Main News

कोरोना भाइरसको जिन सिक्वेन्सिङमा ढिलाई, बल्ल तातिदै सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते २१:०२
कोरोना भाइरसको जिन सिक्वेन्सिङमा ढिलाई, बल्ल तातिदै सरकार (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले भाइरसको म्युटेसन पत्ता लगाउन जिन सिक्वेन्सिङको तयारी गरेको छ । महिनौदेखि चुपचाप रहेको सरकार संक्रमणको दोस्रो लहर आउन थालेपछि बल्ल तातिन थालेको छ । तर जिन सिक्वेन्सिङमा ढिलाई हुँदा तयारी नै प्रभावित भएको भन्दै विज्ञ असन्तुष्ट छन् ।

कोरोना भाइरसले रुप परिवर्तन गरिरहेको छ । रुप परिवर्तन गरेको नयाँ भेरियन्ट कतिपय देशमा झन संक्रामक पाइएको छ । भाइरसले रुप परिवर्तन गरेको थाहा पाउन त्यसको जीन सिक्वेन्सिङ गर्नुपर्छ ।

भारतले पछिल्लो पटक देशका १८ वटा प्रान्तमा नयाँ प्रकारको भाइरस फैलिएको जनाएको छ । नेपालमा पनि नयाँ भेरियन्ट फैलिएको अनुमान गरिएको छ । तर जीन सिक्वेन्सिङ हुन नसक्दा यकिन जानकारी वाहिर आएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिन सिक्वेन्सिङको तयारी भने गरिरहेको छ । यसअघि विदेश र निजी प्रयोगशालाको भर पर्नुपरे पनि अब एकसाताभित्रै सरकारी ल्याबमै जीन सिक्वेन्स गर्ने योजना छ ।

भारतमा अहिले फैलिएको भाइरस बेलायती भेरियन्टको भएकाले नेपालमा पनि त्यही नै हो कि भन्ने अनुमान छ । तर त्यसका लागि जीन सिक्वेन्सिङ एकदमै आवस्यक रहेको विज्ञको तर्क छ ।

कोरोनाविरुद्धका विभिन्न खोप अहिले आइसकेका छन् । तिनको प्रभावकारिताका लागि पनि नेपालले अलि अगाडीबाट जिन सिक्वेन्सिङ गरिसक्नुपर्ने थियो । विज्ञले त्यसका लागि बारम्बार सुझाव पनि दिइरहेका थिए । तर कोरोना रोकथाममा उत्कृष्ट काम गरिरहेको दाबी गर्ने सरकारले कुनै सुनवाइ गरेन । अब धेरै ढिलो भइसकेको विज्ञको वुझाइ छ ।

भाइरसको प्रकृतिमा आएको परिवर्तन हेर्न र कस्तो खालको खोप नेपाललाई सुहाउँछ भन्ने थाहा पाउन पनि जीन सिक्वेन्स जरुरी छ । तर महामारी फैलिएको एक वर्ष भन्दा बढी समयसम्म पनि सरकारी स्तरमा जीन सिक्वेन्सिङको सहज व्यवस्थापन हुन सकेको छैन ।

तीन महिना अघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले इन्टरपेड नेपाल ल्याबसँग मिलेर १५ नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । त्यसबाट त्यतिबेलाको भाइरसको प्रकृतिबारे धेरै जानकारी प्राप्त भयो । जीन सिक्वेन्सिङमा केही निजी प्रयोगशाला सरकारीभन्दा पनि सक्षम देखिएका छन् । उनीहरु सरकारले चाहे अहिले पनि सहयोग गर्न तयार छन् ।

कोरोना भाइरसले समयचक्रसँगै आफ्नो रुप परिवर्तन गर्दै लैजान्छ । परिवर्तित भाइरस कतिपय अवस्थामा झन खतरनाक पनि हुन सक्छ । ति सबै थाहा पाउन जीन सिक्वेन्सिङ अति आवस्यक छ । तर यति महत्वपुर्ण कामतर्फ सरकारले खासै ध्यान दिएको छैन । यदि कोरोना महामारीको देस्रो लहर आयो भने यसको असर तयारीमा पर्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *