राजनीति

अध्यक्ष ओली र नेपाल–खनाल समूहबीच बालुवाटारमा बाझाबाझ, निर्णय फिर्ता नलिने ओलीको अडान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते २०:५१
अध्यक्ष ओली र नेपाल–खनाल समूहबीच बालुवाटारमा बाझाबाझ, निर्णय फिर्ता नलिने ओलीको अडान (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समूह पार्टीभित्रै संघर्ष गर्ने निर्णयका साथ संसदीय दलको बैठकमा सहभागी भएको छ । पहिले बालुवाटार नजाने अडान राखेको नेपाल–खनाल समूह अन्तरसंघर्ष चलाउने नयाँ रणनीतिसहित बैठकमा सहभागी भयो । तर एमाले ब्यूँतिएपछिको पहिलो बैठकमा अध्यक्ष ओली र नेपाल–खनाल समूहबीच बाझाबाझ भएको छ ।

बालुवाटार जानुअघि नेपाल–खनाल समूहको केन्द्रीय सदस्यको बैठकले पार्टीभित्रै बसेर संघर्ष चलाउने र संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गर्‍यो । बालुवाटार गएर के गर्ने भन्ने पनि बैठकले तय गर्‍यो ।

नेपाल–खनाल समूहका नेताहरु संसदीय दलको बैठकमा भाग लिन बालुवाटार पुगे । र, पूर्व योजना अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष अदालतको फैसला अनुसार पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउँ भनेर माग गरे । वरिष्ठ नेता झलनाथ खनालसहितका सांसद र नेताहरुले प्रष्टताका साथ फागुन २३ गते यता भएका निर्णय खारेज गर्नुपर्ने अडान राखे ।

तर प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता झलनाथ खनालसहितले गरेका माग सिँधै अस्वीकार गर्नुभयो । माओवादी केन्द्रका नेतालाई केन्द्रीय समितिमा राख्ने, नेपाल–खनाल समूहका नेताको जिम्मेवार खोस्ने लगायतका निर्णय कुनै पनि हालतमा फिर्ता नहुने ओलीले जवाफ दिएको मुख्य सचेतक विशाल भट्टराईले संचारकर्मीलाई सुनाउनुभयो ।

त्यति मात्रै होइन, प्रधानमन्त्री ओलीले त्यस्ता मागलाई गुटगत प्रयास भन्दै कुनै पनि हालतमा डिल नगर्ने जवाफ पनि दिनुभयो ।

अध्यक्ष ओली जस्तो अडानमा हुनुहुन्छ, खनाल–नेपाल समूह पनि आफ्नो अडानबाट टसमस छैन । २०७५ साल जेठ २ गते नफर्किने कुरा एकताविरोधी हो भन्ने उसको निष्कर्ष छ । र, त्यसका लागि उ पार्टीभित्रै बसेर संघर्ष गर्नेछ । अर्थात समानान्तर गतिविधि कायमै राख्नेछ । आजदेखि शुरु भएको केन्द्रीय सदस्यबीचको छलफललाई उसले निरन्तरता दिनेछ ।

नेपाल–खनाल समूह पनि संसदीय दलको बैठकमा सहभागी हुने खबरसँगै एमालेका मेलमिलाप पक्षधर नेता कार्यकर्ता खुसी भएका थिए । तर त्यो खुसी लामो समय टिकेन ।

एकलौटी रुपमा बैठक बसालेर गरेका निर्णय फिर्ता गर्न अध्यक्ष ओली तयार नहुने र त्यो नभएसम्म पार्टीमा मेलपिलाप नहुने नेपाल–खनाल समूहको अडानले सत्तारुढ एमालेको अन्तरसंघर्ष अझ चर्कने संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्