Main News

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, संकटमा सघाउनेलाई मन्त्री पद उपहार

हिमालय टिभी
२०७७ चैत १३ गते १३:२५
प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, संकटमा सघाउनेलाई मन्त्री पद उपहार

१३ चैत २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । माओवादी छाडेर एमालेतिर लागेका र एमालेकै नेपाल–खनाल समूहका नेतालाई समेटेर मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर एमालेमा लागेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, माधवकुमार नेपालको क्याम्प छोडेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाउनुभएकोे छ। । यस्तै, मुख्यमन्त्री राईले प्रदेशसभा सदस्य कला घले र राजकुमार ओझालाई राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराउनुभएको छ ।

तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर अभियान चलाएपछि पुस ११ गते हटाइएको थियो भने पार्टीभित्र अन्तरसंघर्ष चलेपछि सामाजिक विकास मन्त्री जीवन घिमिरे, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले पुस १२ गते राजीनामा दिनुभएको थियो ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।

अविश्वास प्रस्ताव दर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै बलियो बन्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *