Main News

घरबाटै बेपत्ता झा दम्पतीको शव खाल्डोमा भेटियो, हत्यारा को ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते ६:३१
घरबाटै बेपत्ता झा दम्पतीको शव खाल्डोमा भेटियो, हत्यारा को ? (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ महोत्तरी । एक महिनादेखि बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का झा दम्पती मृत अवस्थामा फेला परेका छन् ।

६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गितादेवी झा को शव महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ मा गाडिएको अवस्थामा फेला परेको हो । झा दम्पतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड्वाका ६५ वर्षीय मुसाफिर झा र उहाँकी श्रीमती ६० वर्षीया गीतादेवीको सुतेकै ठाउँबाट अपहरण भयो । मध्यरात अपहरणमा परेर बेपत्ता भएको दम्पतीबारे त्यसको भोलिपल्ट बिहान मात्र कान्छी बुहारीले थाहा पाएपछि हल्लाखल्ला भयो ।

तत्कालै प्रहरीलाई खबर गरियो । केही विलम्ब गर्दै प्रहरी घटनास्थलमा आएर अनुसन्धान शुरु गर्यो । सीआईबी समेतको टोलीले घटनाको अनुसन्धान गर्यो । सास देउ कि लास देउ भन्दै विभिन्न संघ संगठनले आन्दोलन समेत गरिरहेकाले प्रहरी दबाबमा थियो ।

एक महिना पछि पिपरा गाउँपालिका वडा नम्बर २ अतरात टोल जाने बाटोमा माटोमा पुरिएको अवस्थामा झा दम्पतीको शव फेला पर्यो । मृतकका छोरा र भतिजाले कपडाको आधारमा शवको सनाखत गरेका छन् ।

बालबालिकाले खेलिरहेका बेला मानव खप्पर देखेपछि अभिभावकलाई खबर गरेका थिए । अभिभावकले बताएपछि सीआईबि, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको टोली उक्त स्थानमा पुग्यो ।

जहाँ बाढीले बगाएको सडक बनाउन दुई दिन पहिले मात्र माटो हालिएको थियो । शव माटो खनिएको स्थलबाट सँगै आएको हो वा त्यहि ठाउँमा माटो भरिएको हो भन्ने अझै स्पष्ट भएको छैन ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिकाका रामबाबु यादव, उनका छोराहरु सुरेन्द्र यादव र राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु नै हत्यामा संलग्न भएकोमा प्रहरी विश्वस्त छ ।

लामो समयसम्म अपहरणमा परेका दम्पतीको अवस्थाबारे थाहा नपाएर हैरान भएको प्रहरीलाई अब आरोपितलाई प्रमाण पुराएर सजाय दिलाउने र पीडितलाई न्याय दिने जिम्मेवारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *