राजनीति

एमाले वरिष्ठ नेपालले ओलीलाई उल्टै सोधे यस्तो स्पष्टिकरण

हिमालय टिभी
२०७७ चैत १२ गते २१:०६
एमाले वरिष्ठ  नेपालले ओलीलाई उल्टै सोधे यस्तो स्पष्टिकरण

१२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई सोधिएको स्पष्टिकरणको बदलामा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गर्दै उल्टै स्पष्टिकरण सोध्नुभएको छ । नेपालले आफूलाई होइन, अध्यक्ष ओलीमाथि कारवाही हुनुपर्ने तर्क गर्नुभएको छ ।

संस्थापन पक्षले मागेको स्पष्टिकरणको बदलामा नेता नेपालले अध्यक्ष ओलीलाई उल्टै १३ बुँदे प्रतिप्रश्न सोध्नुभएको हो । नेपालले आफूलाई आएको पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जवाफ दिनुपर्ने आवश्यक रहेकाले स्पष्टीकरण पत्र लेख्नु परेको उल्लेख छ ।

नेपालले पार्टी विधान उल्लंघन गरेको, कम्यूनिष्ट आन्दोलनलाई विभाजित गर्न खोजेको, पार्टी विभाजनको दुराशय राखेको भन्दै किन त्यसो गरेको भनेर अध्यक्ष ओलीलाई सोध्नुभएको छ ।

ओलीले नेपाललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मतियार बनेको आरोप लगाएकोमा त्यसमा आपत्ति जनाउँदै नेपालले उल्टै ओली प्रचण्डको मतियार भएको बताउनुभएको छ ।

प्रचण्ड आफूसँगै हुँदा पार्टी अध्यक्ष रहेको र त्यस्तो अवस्थामा मतियार भनेर देख्नु व्यक्तिवादी भन्दै नेपालले प्रतिनिधिसभा विघटन अघिसम्म लगातार प्रचण्डसँग गोप्य बैठक र सहकार्य गरेकोले ओली नै मतियार भएको तर्क गर्नुभएको छ ।

नेपालले ओलीलाई गलत देखाउन पार्टी एक हुँदाका अनेकौं प्रसंग उठाउनुभएको छ । जसमा प्रचण्डसँग आलोपालो प्रधानमन्त्री हुने सहमति तोडेको, मदन भण्डारी फाउण्डेशनका नाममा गुट चलाएर पार्टी फूटाउन खोजेको, प्रचण्डलाई पार्टी चलाउन दिने निर्णय लागू नगरेको, पार्टी बैठक नबोलाएको, प्रचण्डले बैठक बोलाउँदा पार्टी फूट्ने धम्की दिएको, पार्टी फूटाउने योजना अन्तर्गत ०७७ साल असारमा आफू निकट व्यक्तिलाइ एमाले दल दर्ता गर्न लगाएको आरोप पनि लगाइएको छ ।

वरिष्ठ नेता नेपालले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग बालुवाटारमा गोप्य भेट गरी कुटनैतिक मर्यादा विपरित गुप्त मन्त्रणा गरेको पनि उल्लेख गर्नुभएको छ ।

ठीक त्यही बेला कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै नेपालले गोयलसँग भेट र अविश्वास प्रस्तावबीच तालमेल रहेको आशंका गर्नुभएको छ । ओलीमा अहंकार, स्वेच्छाचारिता रहेको राज्य शक्तिको दुरुपयोग गरेको पनि आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीका तर्फबाट नेपाललाई दशौं राष्ट्रिय सम्मेलन आयोजक समितिको सदस्य भनेर सम्बोधन गरिँदा नेपालले ओलीलाई नवौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष भन्नु भएको छ । यसको अर्थ ओलीले पछि गरेका निर्णय उहाँले सबै अस्वीकार गर्नुभएको छ ।

नेपालले ओलीमा देश, जनता र पार्टीप्रतिको दायित्व बोध र निष्ठा नभएको, पार्टीको झण्डा, चुनाव चिन्ह र संगठनको दुरुपयोग गरेको, फागुन २३ को अदालतको फैसला अवज्ञा हुने गरी स्वेच्छाचारी निर्णय गरेको जस्ता आरोप लगाउँदै त्यसमा स्पष्टिकरण दिन पनि भन्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्