Main News

अब फेरि लकडाउन नगर्न सरकारलाई अर्थविद् र व्यवसायीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १२ गते ६:१४
अब फेरि लकडाउन नगर्न सरकारलाई अर्थविद् र व्यवसायीको आग्रह (भिडियो रिपोर्टसहित)

१२ चैत २०७७ काठमाडौं । लामो लकडाउनका कारण थला परेको अर्थतन्त्र तँग्रिन नपाउँदै कोरोना संक्रमण बढ्न थालेको छ । सरकारले फेरी लकडाउन गर्ने हो कि भनेर उद्योगी व्यवसायी चिन्तामा छन् । व्यवसायी र अर्थविद् संक्रमण बढे पनि लकडाउनको विकल्प खोज्नुपर्नेमा जोड दिइरहेका छन् ।

कोरोना महामारीका कारण पोहोर यही बेला लकडाउन शुरु भएको थियो । त्यो लकडाउनले देशको अर्थतन्त्र नै डाँमाडोल भयो । लकडाउनले थलिएका केही उद्योग व्यवसाय पूरानै अवस्थामा फर्कन संघर्ष गरिरहे पनि धेरै क्षेत्रमा समस्या कायमै छ । पर्यटन क्षेत्र त अहिले पनि ठप्पजस्तै छ ।

यस्तोमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । त्यसैले पोहोरोको लकडाउनले मारमा परेका उद्योगी व्यवसायी फेरि त्यस्तै हुने हो कि भन्ने चिन्तामा छन् ।

कोरोनाविरुद्धको खोप आएपछि उत्साही भएका व्यवसायी फेरि संक्रमण बढ्न थालेपछि त्रसित हुनु स्वभाविकै हो । किन कि कोरोना रोकथामका लागि अन्य विकल्पमा सोंच विचार नै नगरी लकडाउन गर्दा त्यसको मुल्य निजी क्षेत्रले चुकाउनु पर्‍यो । अब फेरि संक्रमण बढे लकडाउन गर्छु भन्ने मानसिकताबाट सरकार टाढा बस्नु पर्ने अर्थविद्को सुझाव छ ।

गत एक वर्षमा साना तथा ठुला व्यवसायीले घरभाडा र बैंकको व्याज तिर्नसमेत नसकेर छटपटाइरहेका छन् । उनीहरु अब फेरि पुरानै नियति नदोहोरियोस् भन्दै अन्य विकल्प सोंच्न सरकारलाई आग्रह गरिरहेका छन् ।

एक वर्षसम्म आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालको अर्थिक वृद्धिदर समेत माइनसमा पुगेको छ। त्यसैले अबका दिनमा जसरी भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुको विकल्प सरकारसँग छैन ।

पोहोर कुनै पनि विकल्प प्रयोग नगरी सिधै लकडाउन गरेका कारण सरकारको आलोचना भएको थियो । लकडाउन गरेर सरकार आफैं सिंहदरबारबाट बाहिर निस्किएन । त्यसको मार उद्योगी व्यवसायले मात्र नभई तीन करोड नेपालीले नै व्यहोर्नु पर्‍यो । त्यसैले कोरोना संक्रमण बढ्दै गए रोकथामका अन्य विकल्पबारे अहिले नै योजना बनाउनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *