Main News

लकडाउन लागेको एक वर्ष पूरा, फेरि लकडाउन लगाउनुपर्ने अवस्था किन आउँदै ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते २१:०५
लकडाउन लागेको एक वर्ष पूरा, फेरि लकडाउन लगाउनुपर्ने अवस्था किन आउँदै ? (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि एक वर्षअघि लकडाउन शुरु गरेको दिन पारेर सरकारले आज आफ्नो कामको मूल्याकंन गर्दै दुईवटा पुस्तक विमोचन गरेको छ । लकडाउन र त्यसपछिका निषेधाज्ञाले समाज र अर्थतन्त्रमा परेको असरलाई बिर्सदैँ सरकारले आफ्ना सबै काम ठिक भएको निष्कर्ष पनि निकालेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको एक वर्ष पुग्यो । सरकारले लकडाउन घोषणा गरेसँगै आम नागरिकले धेरै सास्ती खेप्नु पर्‍यो । नागरिक भोकभोकै महिनौँ हिँडेर घर फर्के । भारतबाट आएका नागरिकले महाकाली नदीमा हामफालेर जन्मभूमिमा छिर्नु पर्‍यो ।

हतारमा लकडाउन गरेर नागरिकका समस्यलाई पुरै वेवास्ता गरेको र सास्ती दिएको भन्दै सरकारको खुब आलोचना भयो । तर सरकारले भने नागरिकले पाएको सास्ती देशो भोगेको आर्थिक क्षतिलाई कुनै मुल्यांकन नै नगरी लकडाउनकै कारण कोरोना रोकिएको ठहर गरेको छ । र सरकारले लकडाउन गरेर ठिक गरेछौँ भन्ने निष्कर्ष निकालेको छ ।

लकडाउन लगत्तै सरकारले ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरीद गर्ने निर्णय गरेर अनियमिता गरेको आरोप लाग्यो । व्यवस्थापन राम्रो नभएका कारण क्वारेन्टिन कालघरे बने । क्वारेन्टिनमा बसेकाको मृत्यु भयो । कोरोना संक्रमण उच्चदरमा पुगेको बेला संक्रमितले अस्पतालमा बेड भेन्टिलेटर र आईसीयू पाएनन् । तर सकार भने यो सबै व्यवस्था राम्रो भएको दावी गर्न पछि परेन ।

कोरोना कहरमा केही स्थानीय तह, कूटनीतिक नियोग, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतले खेलेको भूमिका प्रशंसनीय थियो । सरकारले यसलाई भने सही मुल्यांकन गरेको छ ।

कोरोना कहरको एक वर्षमा खोप आयो र यसले विश्व भर नै खुसीको सन्देश दियो । नेपाललाई पनि भारतले १० लाख डोज खोप अनुदान दियो र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज खोप आयो ।

यस बाहेक सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख खोप किन्यो । जसमध्येको १० लाख डोज खोप मात्र आएको छ । सरकारले भारतसँग किनेको बाँकी खोप ल्याउन र चीनले अनुदानमा दिएको खोप ल्याउन सकेको छैन् । र अहिले खोप अभियान स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भने नागरिकलाई निस्शुल्क खोप उपलब्ध गराएको भन्दै सरकार यसमा सफल रहेको दाबी गर्नुहुन्छ ।

सरकार कोरोना कहरलाई जित्नका लागि आफूले गरेको गतिविधीप्रति सन्तुष्ट देखिन्छ । नागरिक पनि कोरोना कहरलाई विर्सिएर, सामान्य जीवनतर्फ फर्किएका छन् । कोरोनाको प्रभाव नसकिएकाले राज्यले गर्ने तयारी र नागरिकले अपनाउने सावधानी अझै चुस्त हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *