Main News

स्थानीय तहसँग प्रधानमन्त्रीको प्रश्नः ७० प्रतिशत बजेट भनेको के हो ? बजेट ओढ्ने ओछ्याउने हो र ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १८:२४
स्थानीय तहसँग प्रधानमन्त्रीको प्रश्नः ७० प्रतिशत बजेट भनेको के हो ? बजेट ओढ्ने ओछ्याउने हो र ?(भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पूँजीगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने बताउनुभएको छ ।

आज नेपाल नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च गर्ने क्षमताका कमी हुनु राष्ट्रिय कमजोरीको रुपमा रहेको बताउनुभयो । पूँजीगत खर्च गर्ने क्षमता भएकाहरुले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘बजेटमा ७० प्रतिशत भनेको के गर्नुहुन्छ ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र ? वस्तुत्ः हेर्नुहुन्छ भने प्रशासनिक खर्च बाहेक विकासको त सबै कुरा हुने त्यहीँबाट नै हो । त्यहीँ जान्छ सबै । जहाँसुकै पनि पूँजीगत खर्च, खर्च गर्ने क्षमताको कमी यो राष्ट्रिय कमजोरी हो हाम्रो । क्षमता भएको ठाउँमा त पूँजीगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पूँजीगत खर्च झन गाह्रो हुन्छ । त्यसकारण त्यो पूँजीगत खर्च हुनेगरी हामी विनियोजन गर्छौ । पूँजीगत खर्च नहुनेगरी कतै थुपार्ने कतै केही गर्ने भन्ने केन्द्र सरकारको सोँच होइन । म साथीहरुलाई स्पष्ट भन्न चाहन्छु त्यस्तो सोच हुनै सक्दैन । थुपारेर राखेर, फ्रिज गराएर के अर्थ छ र ?’

प्रधानमन्त्री ओलीले स्थानीय तहहरुलाई अधिकार दिन नहिच्किचाएको पनि स्पष्ट पार्नुभयो । स्थानीय तहले आफ्नो क्षमतालाई बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘स्थानीय तहलाई अधिकार सम्पन्न नबनाए कसलाई अधिकार सम्पन्न बनाउने ? स्थानीय तहले घरमा लगेर त्यो अधिकार गाई भैसीलाई खुवाउने हो र ? त्यहाँ देश विकासका लागि, जनताका लागि खर्च गर्छन् नि । त्यसकारण त्यो अधिकार दिन हिच्किचाउनुपर्ने कुनै कारण छैन । खाली के भने क्यापिसिटी विल्डिङको स्थितिमा अलिकति हामीले तालमेल मिलाउनुपर्छ । त्यो विकास गर्दै जानुपर्छ ।’

प्रदेश सरकार र स्थानीय तहले केन्द्र सरकारले जस्तै सबै कुरा गर्न खोज्न नहुने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रदेश सरकार र स्थानीय तहले सरकार भनेपछि केन्द्र सरकार जस्तै हो भन्ने भ्रम पनि राख्न नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कतिपय कुराहरु पालिकाहरुमा एकरुपताका साथ गर्नुपर्ने बताउनुभयो ।

पालिकाहरुबीच भिन्नता नआइ समान ढंगले काम हुनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न शुरु गर्ने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *