राजनीति

एमालेका वरिष्ठ नेता नेपालले भने–अध्यक्ष ओलीसामू कुनै पनि हालमा आत्मसमर्पण गरिन्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते १७:४०
एमालेका वरिष्ठ नेता नेपालले भने–अध्यक्ष ओलीसामू कुनै पनि हालमा आत्मसमर्पण गरिन्न (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधावकुमार नेपालले अध्यक्ष ओलीसामू कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।

आज नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताउनुभएको हो । उहाँले स्पष्टिकरणबाट आफूहरु नतर्सेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आज एकजनाले विनम्र भावले भन्दै हुनुहुन्थ्यो केपी ओलीसँग मिल्नका लागि के गर्नुप¥यो भने उहाँले जेजे कारबाही गर्नुहुन्छ सहेर भए पनि, पार्टीबाट निकाली दिनुहुन्छ भनेपनि पार्टीबाट निकालिए पनि चुप लागेर सहेर बसिदिनुहोस । के त्यही बाटोमा हामी जाने हो ? के घुँडा टेक्ने बाटोमा हामी जाने हो ? हामी के आत्मसमर्पणको बाटोमा जाने हो ? के केपी ओलीको टाङमुनी छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । त्यसो हुनाले केपी ओलीको यो कथित स्पष्टिकरणबाट हामी तर्सिएका छैनौं । हामी आतंकित भएका छैनौं । त्यसको सामना गर्न तयार छौं ।’

ओली पक्षले सोधेको स्पष्टिकरणबाट भागेर मैदान नछाडने र पार्टी नफुटाउने पनि नेता नेपालले बताउनुभयो । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहेपनि आफूले पार्टी नफुटाउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘ मलाई एक जनाले भन्नुहुन्थ्यो स्टेजमा बस्दाखेरी अनुहार उज्यालो गर्नुहोस, अलि अँध्यारो अँध्यारो जस्तो भयो मुसुक्क हासिदिनुहोस, म हाँस्ने प्रयत्न गर्दै थिए तपाईहरुमा अलिकता पनि नपरोस कि हामी तर्सेका छौं, केपी ओलीको स्पष्टिकरणबाट तर्सेका छैनौं । हामी मैदान छोडेर भाग्नेवाला छैनौं, पार्टी हामी फुटाउँदैनौं । पार्टी फुटाउने केपी होली हुन् । पार्टी फुटाउँछन भने ओलीले फुटाउँछन्, हामीले फुटाउँदैनौं । पार्टीलाई एकतावद्ध बनाउछौं ।’

आफू कहिले अलमलमा र द्विविधामा नपरेको पनि नेता नेपालले स्पष्ट पार्नुभएको छ । आफूले चुनौतिको सामना गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कस्ताकस्ता कहाँ आए केपी ओली मेरो समुन्नेमा’ । केपी ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्चीमा बस्दासम्म मात्रै हुने पनि नेता नेपालले बताउनुभयो ।

नेता नेपालले नेकपा एमाले आफूहरुको भएको पनि बताउनुभयो । केपी ओली बि–माले, सि–माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानूनी हिसाबले कब्जा गरे भने विचार गरौंला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन, सि–माले हुन उनी यो पार्टी छोडेर गए हुन्छ ।’

केपी ओली र आफूहरुको बीचमा प्रवृत्ति र विचारको लडाई भएको पनि नेता नेपालले बताउनुभयो । ओलीमा व्यक्तवादी प्रवृत्ति रहेको र आफू जहिले सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रो प्रवृत्ति सामूहिकतावादी छ । आफूलाई व्यक्तिवादी, आफुलाई केन्द्रमा राखेर चल्ने प्रवृत्ति केपी ओलीमा छ । हामीले सङ्गठनलाई केन्द्रविन्दुमा राखेर चल्ने कुरालाई प्रोत्साहित गर्दछौं । हामीमा त्यो सङ्गठनवादी प्रवृत्ति रहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्