Main News

भारतमा संक्रमण बढेसँगै नेपालमा पनि कोरोना जोखिम बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते २१:०९
भारतमा संक्रमण बढेसँगै नेपालमा पनि कोरोना जोखिम बढ्यो (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने संकेत देखिएको छ । भारतमा कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर आउने सम्भावना बढेको भन्दै सरकारले सबैलाई सचेत हुन आह्वान गरेको छ ।

स्वास्थ्य मन्त्रालयले छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा पनि दोस्रो लहर फैलन सक्ने अनुमान गर्दै सावधानी अपाउन आग्रह गरेको हो । सरकारले सूचना जारी गर्दै भिडभाड नगर्न, जनस्वास्थ्य मापदण्ड पालना गर्न भने पनि नागरिकले त्यो सूचनाको वास्ता गरेको पाइँदैन ।

नागरिकले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न छाडेर निस्फिक्री रुपमा पूरानै शैलीमा फर्केका छन् । त्यसैले सरकारले कोरोना संक्रमणको जोखिमलाई वेवास्ता नगर्न सुझाव दिएको छ ।

यसअघि पनि सरकारले पटक पटक स्वास्थ्य मापदण्ड पालना गर्न सरकारले आग्रह गरिरहेको थियो । सरकारले मात्रै हाईन, जनस्वास्थ्य विज्ञहरुले पनि अनिवार्य मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र भिडभाड नगर्न आग्रह गरेका थिए ।

तर कोरोना कहरकै बिच सरकारी पक्षले नै सभा जुलुश गरे । देशभरका नागरिक भेला गरेर भएका सभामा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुनु भयो । यी दृश्य देख्दा लाग्थ्यो । सरकारले र नागरिकले कोरोना कहरलाई बिर्सिए । जुन गलत थियो । अब सरकार र आम नागरिक दुवै जिम्मेवार हुनुपर्ने जनस्वास्थ्य विज्ञको भनाइ छ ।

भारतमा देखिएको दोस्रो लहर खुल्ला सिमानाकाका कारण नेपालमा छिट्टै भित्रने सम्भावना छ । यस्तो अवस्थामा सीमा नाकामा आवतजावतमा कडाई, पीसीआर परीक्षणको व्यवस्था, व्यवस्थित क्वारन्टिनको व्यवस्थापन गर्न जनस्वास्थ्य विज्ञको सुझाव छ ।

भारतमा दोस्रो लहरमा देखिएको कोरोना भाइरस, बेलायतमा देखिएको कोरोना भाइरस नै भएको विज्ञहरुको भनाई छ । विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमण हुने देशमा भारत तेस्रो स्थानमा छ भने मृत्यु हुनेमा चौथो स्थानमा छ।

सन् २०२१ को सुरुताका सङ्क्रमण कम हुन थाले पनि स्वास्थ्य सावधानीहरू नअपनाइएका कारण भारतमा पुनः सङ्क्रमण बढ्न थालेको हो। नेपालमा पनि सावधानी नअपनाए भारतमा जस्तै अवस्था आउने सक्ने चेतावनी विज्ञको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *