राजनीति

कारवाही गर्ने चेतावनी दिँदै सोधियो माधव नेपालसहित चार नेतालाई स्पष्टिकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते २०:५४
कारवाही गर्ने चेतावनी दिँदै सोधियो माधव नेपालसहित चार नेतालाई स्पष्टिकरण (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टिकरण सोधेको छ । पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा ओली पक्षले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण पत्र पठाएको हो। महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिन भित्र प्रष्टिकरण पेश गर्न भनिएको छ ।

चैत ७ गते वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको ओली पक्षले आज सबै नेताको घरमा पत्र पठायो । केन्द्रीय कार्यालयका कर्मचारीले घर घरमा पुगेर स्पष्टिकरण पत्र बुझाए । जसमा तीन दिन भित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।

समानान्तर भेला गर्ने, कमिटी बनाउने गरेपछि एमालेको संस्थापन पक्ष नेपाल खनालपक्षसँग निकै आक्रोशित छ । त्यसैले महासचिव ईश्वर पोखरेलले पठाएको पत्रमा पार्टीहित विपरीत कार्य किन गरेको ? कारवाही किन नगर्ने भनेर सोधिएको छ । चित बुझ्दो जवाफ नदिए कारवाही गर्ने चेतावनी पनि दिइएको छ ।

एमालेको नेपाल खनाल पक्ष स्पष्टिकरण नदिने तयारीमा छ, तर संस्थापन अब लचिलो नहुने पक्षमा देखिएको छ । हिजो वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा हुँदा पनि अनुशासन विपरितको काम गर्नेलाई कारवाही गरिएको भन्दै अहिले नछोड्ने ओली पक्षको चेतावनी छ ।

एमालेको संस्थापन पक्षले अनुशासनको कारवाही गर्न खोजे पनि वरिष्ठ नेता नेपाल खनाल पक्षले फागुन २३ गते यता भएका सबै निर्णयलाई अवैधानिक भन्दै अस्वीकार गर्दै आएको छ । र, यो अनुशासनको कारवाहीको विषयलाई पनि उसले स्वीकार गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्