Main News

तोकिएको समयभन्दा झण्डै दुई वर्षपछि नेपालमा गैँडा गणना शुरु

हिमालय टिभी
२०७७ चैत ९ गते १४:२०
तोकिएको समयभन्दा झण्डै दुई वर्षपछि नेपालमा गैँडा गणना शुरु

९ चैत २०७७ काठमाडौं । तोकिएको समयभन्दा करिब दुई वर्षपछि विश्वकै दुर्लभ मानिने एक सिङ्गे गैँडाको गणना आजदेखि शुरु भएको छ ।

गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको एकैसाथ शुरु गरिएको छ । वनमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुआत गर्नुभएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैँडा गणना हुन लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बरालले जानकारी दिनुभयो । गणनाका लागि चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ ।

यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुँदैछ । दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान छ । चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

पाँच पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना भाइरस र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो । ​नेपालमा चोरी शिकारका घटनामा कमी आए पनि पछिल्लो समय गैंडा मर्ने क्रम बढेको छ। सन् २०१५ को गणनामा नेपालमा ६४५ वटा गैंडा थिए ।

गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । तीमध्ये चोरी सिकारीले मारेका गैंडा ६ वटा छन् भने १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *