Main News

राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बंगलादेश जाँदै

हिमालय टिभी
२०७७ चैत ९ गते ७:३०
राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बंगलादेश जाँदै

९ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश जाँदै हुनुहुन्छ ।

बंगलादेशका समकक्षीको निम्तोमा राष्ट्रपति भण्डारी बंगलादेश जान लाग्नु भएको हो । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान साढे ८ बजे राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजमार्फत ढाका प्रस्थान गर्नुहुनेछ।

त्यहाँ उहाँलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइनेछ।

उहाँले आजै बङ्गलादेशका राष्ट्रपति सँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपतिको भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल लगायत गरी ५४ जना हुने छन्।

भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी पनि रहने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *