राजनीति

प्रधानमन्त्री ओली विदेशीको इशारामा चलेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १६:२३
प्रधानमन्त्री ओली विदेशीको इशारामा चलेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको योजनामा चलिरहेको आरोप लगाउनुभएको छ ।

अन्तर्राष्ट्रिय जातिभेद विरुद्धको दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न प्रधानमन्त्री ओली विदेशीको योजनामा चलिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताउनुभयो । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो – ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरु देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । विचार गर्नुहोला, ति सबै मिलेर एउटा धार बनेको छ । र ति सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरुले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्र पनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग , जाति, क्षेत्र, लिङ्ग,समुदायलाई उनीहरुको हक अधिकारलाई सिध्याउन सक्ने पहाडिया उच्च जातिय अहंकारवादको प्रतिनिधि र विदेशीको अगाडी राम्रै लम्पसार पर्न पनि सक्ने सजिलै ।’

बीसौं वर्षदेखि विदेशीले प्रधानमन्त्री ओलीलाई हुर्काएको पनि प्रचण्डले दावी गर्नु भएको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो–‘बीसौँ, पच्चीसौँ वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित पोषित पनि को हो भनेर हेर्दै जाँदा केपी ओली नै देखियो भनेका छन् । र अहिले केपी ओलीलाई प्रतिनिधिको रुपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरंकुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रको रुपमा केपीजीलाई साथ लिएका छन् उनीहरुले । कतिदिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहिँ लिएकै छन् ।’

अध्यक्ष प्रचण्डले आफूले पहिचान र अधिकारको मुद्दा नछोडेको दाबीसमेत गर्नुभयो । अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताउनुभयो । दलित र महिलालाई विशेषाधिकार दिनको निम्ति आफुले पहल गरेको पनि उहाँको भनाइ छ ।

विशेषाधिकारबिना महिला र दलितहरुले वास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइन्युटमा नै नोट अफ डिसेन्ट राखेर भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भएपनि आफुले मुद्दा छाडेको भनि प्रचार भएको उहाँको भनाई छ । प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारका निम्ति लड्ने नीति लिएको भन्दै उहाँले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘तपाइैहरुलाई प्रचण्डले छोडेको हो कि हाम्रो मुद्दालाई भन्ने लाग्दो हो । त्यो चाहिँ साँचो होइन । मैले जति आन्दोलनको बल र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुन सक्ने जति अधिकार चाहिँ लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो । अरु केही पनि होइन । न मैले विशेषाधिकार छोडेको छु न मैले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरुले पाउनुपर्ने पहिचान र अधिकारको मुद्दा छोडेको छु । मैले जति प्राप्त हुन सक्थ्यो त्यति चाहिँ लिइहालौँ । त्यसभन्दा अगाडी चाहिँ फेरी आन्दोलन अगाडी बढाइराख्नुपर्ने हुन्छ । र हामीले संविधानलाई पनि एउटा गतिशील र परिवर्तनशील दस्तावेजको रुपमा संविधान संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितहरुको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको मात्रै हो । तपाईहरुले गहिरोगरी विचार गर्नुभयो भने यो कुरा बेठिक भनेर बहस गर्ने ठाउँ हुन्छ भन्ने मलाई लागेको छैन ।’

नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाइ छ । दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उहाँले त्यसविरुद्ध आफु बाचुञ्जेल लड्ने पनि बताउनुभयो । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्