Main News

सुनुवाई विनै ४० वर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसाद थुनामुक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ७ गते २०:५७
सुनुवाई विनै ४० वर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसाद थुनामुक्त (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । झण्डै ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त हुनुभएको छ । कोलकाताको दमदम केन्द्रीय कारागारमा भाइ प्रकाशचन्द्र तिम्सिनाले दुर्गाप्रसादलाई बुझ्नुभयो ।

हत्या आरोपमा दार्जिलिङ्बाट पक्राउ परेका दुर्गाप्रसादलाई कुनै सुनुवाई विना ४० वर्षसम्म जेलमा राखिएको पाइएपछि भारतमै चर्को वहस पनि भइरहेको छ ।

जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिँदै इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिनाले आफू निर्दोष भएको प्रतिक्रिया दिनुभयो । शारीरिक र मानसिक रुपमा निकै कमजोर रहेका तिम्मिसना भोलि बिहान ८ बजे झापाको काँकडभिट्टा आइपुग्ने दाजु प्रकाशले जानकारी दिनुभयो ।

उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । कानूनी प्रक्रिया पूरा नहुँदा एक दिन ढिलो गरी दुर्गाप्रसाद छुट्नु भएको हो । तर घरमा ९० वर्षीया आमा र भाइ पनि मानसिक विरामी भएकाले दुर्गाप्रसादको रेखदेख कसले गर्ने भन्ने चिन्ता थपिएको छ ।

जेलमा दिइएको चरम यातनाका कारण दुर्गाप्रसाद मानसिक र शारीरिक रुपमा असक्त रहेको विश्व सेवा विस्तार नामक संस्थाले जनाएको छ । यही संस्थाले पहिलो पटक दुर्गाप्रसादलाई परिवारसँग भेट गराएको थियो ।

अदालतले प्रत्येक ६र६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको छ । सन् १९८१ मा हत्या आरोपमा दार्जलिङबाट पक्राउ परेका दुर्गाप्रसादलाई सुनुवाइ विना नै ४० वर्षसम्म भारतका विभिन्न जेलमा राखिएको थियो ।

दुर्गाप्रसादलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार र पछि कोलकाता पुर्‍याइएको थियो । १० वर्षसँगै जेल बसेका राधेश्याम दास भन्ने व्यक्तिले सञ्‍चारमाध्यममा खबर गरेपछि दुर्गाप्रसादको गैर न्यायीक थुनाबारे खुलासा भएको थियो ।

समाचार सार्वजनिकलगत्तै अधिकारीवादी तथा सामाजिक अभियन्ताले जेलमा हुने गरेका चरम लापर्बाही र प्रशासनिक निष्क्रियताको विरोध जनाइरहेका छन् । दुर्गाप्रसादलाई परेको जस्तो पीडा अब संसारमा कसैलाई पनि नहोस भन्ने परिवारको कामना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *