राजनीति

नेपालले भने–तीन वर्षदेखि पार्टीमा लागेको खिया सफा गर्ने प्रयासमा छौं

हिमालय टिभी
२०७७ चैत ७ गते १६:४३
नेपालले भने–तीन वर्षदेखि पार्टीमा लागेको खिया सफा गर्ने प्रयासमा छौं

७ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल–खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो । पूर्ववत रुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी विचारलाई सफा बनाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “३ वर्षसम्म सबैतिर काई लागेको थियो खिया लागेको थियो। खियालाई हामी विस्तारै हटाउँदैछौ । काईलाई हटाउँदैछौ । खिया हटाउँदैछौ । फेरि हामी दाँत माझ्दैछौ । अब फेरी ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौ । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहित बनाउँदैछौ । झण्डैझण्डै हाम्रो मुख गन्हाएर हैरान भइसकेको थियो । फेरि हामीले त्यो फोहर मैलालाई टुथपेष्टले क्लीयर पारेर सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ फ्रेस अक्सिजन के हो ? प्राणवायु के हो ? मार्क्सवादको विचार हो । जसरी शरीरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ । त्यो विचारले ऊर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो । ”

उहाँले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “सर्वोच्च अदालतले फैसला गरेछ, ‘दुईवटा पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएको भए पनि त्यो चाहिँ हामी मान्दैनौ तिमीहरु पूरानै ठाउँमा फर्क’ भनेर उसले फैसला गरिदिएछ । यो जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ भनेजस्तै फैसला हो । बच्चा जन्मिइसकेको छ । नयाँ संगठन अस्तित्वमा आइसकेको छ । त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले । फैसला गलत भए पनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौ भन्न मिलेन । नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौ भन्न्ने ? त्यो फैसलामा बहस फैसला त गर्दैगरौला तर हामी निर्णय मान्न बाध्य छौ । ”

पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफुहरुको प्रस्ताव ओलीले नमानेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “पूर्व एमाले व्युँतनुको अर्थ के हो भने ? पूर्व एमालेमा केपी ओली पनि आउनुप¥यो । हामी पनि त्यही ठाउँमा पुग्न प¥यो । केपी ओलीमा जाने होइन । यो कुरा प्रष्ट हुनुप¥यो । पूर्व एमाले व्युँतनु भनेको पुरानो संगठन फेरी व्युँताउने हो । आज पार्टी भत्र विवाद भइरहेको कुरा त्यही छ । पूर्व एमाले व्युँतिइसकेपछि कहिले कहाँ कुन मितिमा शुरु हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न । ”

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उहाँले किसान संघ, उत्पीडित समुदाय लगायतको राष्ट्रिय भेला गरेर पुनर्जीवन र पुनर्ताजगी दिने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारीविरुद्धको आन्दोलनमा आफुहरु एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढीकरण र विस्तारका लागि धेरैभन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो “हामी सानो चित्तका छैनौ । मन सानो छैन । चित्त सानो छैन । सबैलाई समावेश गर्ने गरी हामी जानेछौ । त्यसैले धेरैभन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्नुहोस् ।”

पार्टीको अवस्था देखेर झोक््रयाएर नबस्न उहाँले युवाहरुलाई निर्देशन दिनुभयो । उहाँले नयाँ उत्साह र जोशका बैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्