ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गर्ने एक विदेशीसहित दुई जना पक्राउ

६ चैत २०७७ काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफीले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिकसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
आज ब्यूरोले पत्रकार सम्मेलन गरी दुवै जनालाई सार्वजनिक गरेको हो । काठमाडौ नयाँबजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालिका संचालक ४२ बर्षीय आशिष आचार्यले ग्रिन कफी खाई वजन घटाएको विज्ञापन बनाई सामाजिक सञ्जालमा राखेर ठगी गरेको उजुरीका आधारमा व्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी रसियन नागरिक इगोरकुर्टसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पत्रकार सम्मेलनमा व्युरोका निर्देशक एवं डीआईजी सहकुल बहादुर थापाले उनीहरुले ९ सय ६० रुपैयाँको ग्रिन कफीलाई २० र ४० हजारसम्ममा बिग्री गरेर ठगी गरेको बताउनुभयो । उनीहरुले कानुन बमोजिम अनुमति नलिइकन अन्य सामग्रीहरु पनि विक्री गर्ने गरेको पाइएको छ ।
पक्राउ परेका अभियुक्तहरुको नेटवर्क भारत र रसियामा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफी, २५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ ।
प्रतिक्रिया