ओलीले प्रधानमन्त्री बन्न प्रचण्डलाई भर्याङ बनाएको नेता नेपालको आरोप (भिडियो रिपोर्टसहित)
६ चैत २०७७ काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजदेखि समानान्तर भेला शुरु गरेको छ ।
दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा गरेको छ । यसअघि २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।
आफू निकट कार्यकर्ताको राष्ट्रिय महिला भेला तथा प्रक्षिक्षण कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली असली एमाले नभएको आरोप लगाउनुभएको छ ।
एमाले बनाउन ओलीको कुनै योगदान नरहेको तर एमाले म हुँ भनेर फुर्ति देखाउने गरेको आरोप उहाँले लगाउनु भयो ।
ओलीले सत्तामा जानका लागि नेकपा माओवादी केन्द्रसँग एकताको नाटक गरेको आरोप पनि नेता नेपालले लगाउनुभयो । ओलीले प्रधानमन्त्री बन्नलाई एकताको नाममा प्रचण्डलाई भर्यङ्ग बनाएको उहाँले बताउनु भयो ।
देशभर समानान्तर संगठन र गतिविधि गर्ने घोषणा गरेको नेपाल समूहले भोलि युवा संघको भेला गर्दैछ ।
१० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ । सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।
प्रतिक्रिया