Main News

संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा पुनर्विचार गर्न सांसद भुसालको माग

हिमालय टिभी
२०७७ चैत ६ गते १६:३३
संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा पुनर्विचार गर्न सांसद भुसालको माग

६ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सांसद पम्फा भुसालले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुनविैचार गर्नुपर्ने बताउनुभएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारले संसद नभएको बेलामा असंवैधानिक किसिमले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारीकारी नियुक्ति गरिएको भन्दै सो नियुक्तिलाई पुनर्विचार गर्नुपर्ने बताउनुभएको हो ।

संसदीय सुनुवाइलाई छलेर प्राविधिक रुपमा तिथिमिति मिलाएर नियुक्ति गरिएकाले संवैधानिक नियुक्तिलाई संविधान सम्वत् बनाउनैपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘पार्टीको स्थायी समितिमा लेखेको मसी नसुक्दै झुठ तरिकाले त्यही अध्यादेश अनुसार संवैधानिक परिषदहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो । र अहिले पनि संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ । अब यो संसद पुनर्स्थापना भएको छ । हामी एउटा ढंगले त्यसको पुनर्विचार गर्नैपर्छ । हामीले त्यसलाई संविधानसम्मत् बनाउनैपर्छ । संसदको सुनुवाइ गर्ने परम्परालाई छलेर केवल टेक्निकल तिथिमिति गरेर, ढाँटेर, जुन ढंगले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहन्छु ।’

सांसद भुसालले वर्तमान राजनीतिक प्रणाली अनुसार निर्वाचनमा कसैको पनि दुईतिहाइ आउने सम्भावना नरहेको भए पनि प्रधानमन्त्री ओलीले दुईतिहाई ल्याउने धाक दिएर आफ्नो लाज छोपेको बताउनुभयो । प्रतिनिधि सभाको हालको बनावट अनुसार राजनीतिक दललाई बहुमत ल्याउन पनि गाह्रोपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो देशले हाम्रो संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीले तपाईले सोच्नुभएको छ, तपाईले जनतालाई भ्रम दिनुभाछ कि ढाट्नु भाछ कि आफै भ्रममा हुनुहुन्छ र मुर्खता गर्नुभाछ ? हाम्रो जस्तो निर्वाचन प्रणाली जहाँ ६० प्रतिशत प्रत्यक्ष छ । ४० प्रतिशत समानुपातिक छ । जहाँ समाजका सबै जाति, वर्ग, लिङ्ग, समुदाय आउनुभाछ । संविधानले व्यवस्था गरे अनुरुप हाउसको जुन बनावट छ । यस्तो निर्वाचन प्रणालीमा बहुमत पनि यदाकदा आउँदैन । दुईतिहाइको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुस् । मेरो अपिल छ ।’

सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने पनि बताउनुभयो । सरकारले संसद सञ्चालनका लागि एजेण्डा नदिएको भएपनि प्रधानमन्त्री ओलीले सडकबाट संसद सञ्चालनको सम्बन्धमा सभामुखलाई गाली गर्दै हिँडेको उहाँको भनाइ छ । देशको वर्तमान राजनीतिक समस्याहरुको राजनीतिक दलहरु र संसदबाटै हल खोज्नुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *