Main News

परराष्ट्रमन्त्री ज्ञवालीले गरे संसदमा यस्तो गुनासो, सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत

हिमालय टिभी
२०७७ चैत ६ गते १६:१७
परराष्ट्रमन्त्री ज्ञवालीले गरे संसदमा यस्तो गुनासो, सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत

६ चैत २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले शुरुका बैठकहरुमा अत्यावश्यक र जनजीवनसँग सरोकार राख्ने विधेयकहरु प्रस्तुत गर्न नदिएको गुनासो गर्नुभएको हो । उहाँले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुनर्स्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको तर शुरुवातका बैठकहरुमा राम्रो संकेत नदेखिएको बताउनुभयो । उहाँले सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षाभन्दा अग्रगामी एजेण्डामा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “शुरुका केही बैठकहरु जसरी अघि बढे तिनीहरुले राम्रो संकेत भने गरेनन् । सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने र ती अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर हामी यस्तो अवस्थामा पुग्यौं अत्यावश्यक र ज्यादै जनजीवनसँग सरोकार राख्ने विधेयकहरु समेत सदनमा प्रस्तुत हुन सकेन । ”

उहाँले प्रतिनिसभाको ७ औ अधिवेशन शुरु भएकोमा सबै सांसद र सबै राजनीतिक दलहरुलाई हार्दिक शुभकामना दिँदै विधि निर्माणमा थप सक्रिय बनोस् भन्ने कामना पनि गर्नुभयो । संसद दलहरुबीच नयाँ समझदारी निर्माण गर्दै विधिविधान निर्माण गर्ने सवालमा हिउँदे अधिवेशन सफल होस् भन्ने कामना पनि गर्नुभयो । .

उहाँले सर्वोच्चका आदेशसँग हाम्रा व्यवहारहरु कति मेल खान्छन् भन्ने समीक्षा गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले आफु सम्बद्ध राजनीतिक दल र सरकार आफ्नो अनुकुल फैसला आउँदा विजयोत्सव र प्रतिकुल आउँदा झेक्राएर बस्ने गल्ती नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो“अदालत स्वतन्त्र छ फैसला गर्नका लागि । मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल र वर्तमान सरकार फैसला आउँदा न लड्डु खाएर खुसियाली मनाउँछ न झोक्राएर नै बस्छ । हामी दुवै मुद्दा हारेका छौ तर अदालतलाई कुनै आक्षेप लगाएका छैनौ।”

उहाँले अन्तरविरोधहरु देखिए पनि संविधान नमान्ने र देशको अस्तित्वलाई चुनौति दिने प्रवृत्तिलाई समाप्त पार्दे सिंगो राष्ट्रलाई एकठाउँमा ल्याउने काम भएकाले राजनीतिक हिसावले अब मुलुक द्वन्द्वमुक्त भएको बताउनुभयो ।

उहाँले मुलुक विकाससिल मुलुकमा अंकित हुने चरणमा पुगेको, मेलम्चीको पानी सुन्दरीजल आएको र अर्को हप्ताबाट काठमाडौको धारामा पानी आउन थाल्ने, सुनकोशी डायर्भसनले तराईलाई सुन फल्ने देश बनाउने चरणमा पुराउने, नागढुंगा सुरुङ मार्गको निर्माण कार्य शुरु भएका, आगामी दुई बर्षभित्र कालोपत्रे नपुगेका प्रत्येक पालिकालाई कालोपत्रे सडकले जोड्ने गरी कामको सुरुवात भएको भन्दै उहाँले सरकारले गरेका कामकारवाहीको फेयरिस्त नै राख्नुभयो ।

उहाँले सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चैत ९ गते गर्न लाग्नुभएको बंगादेशको औपचारिक राजकीय भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *