Main News

आगामी तीन वर्षभित्र सबै स्थानीय तहको आफ्नै प्रशासनिक भवन बन्ने

हिमालय टिभी
२०७७ चैत ६ गते ८:०३
आगामी तीन वर्षभित्र सबै स्थानीय तहको आफ्नै प्रशासनिक भवन बन्ने

६ चैत २०७७ काठमाडौं । अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ ।

सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहका प्रशासनिक भवन छैनन् ।

सरकारले सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम अगाडि बढाइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

विभागका प्रवक्ता अशोककुमार साहले आगामी तीन वर्षभित्र सबै स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको बताउनुभयो । ७३५ स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन बाँकी छन् ।

गत आर्थिक वर्षमा ११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । अहिले ठेक्का सम्झौता भई ५४ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।

चालू आर्थिक वर्षमा ४१ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न हुनेछन् । सबै स्थानीय तहका प्रशासनिक भवन निर्माणका लागि दुई अर्ब ७० करोड रुपियाँ लाग्ने अनुमान विभागले गरेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले ८० करोड रुपियाँ प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । न्यून बजेटका कारण स्थानीय तहका प्रशासनिक भवन निर्माण गर्न कठिन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *