राजनीति

स्थानीय तहसम्मै समानान्तर गतिविधि गर्ने एमाले नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ६ गते ६:४८
स्थानीय तहसम्मै समानान्तर गतिविधि गर्ने एमाले नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले तलैसम्म समानान्तर गतिविधि गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय कार्यकर्ता भेलाले अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन गर्ने प्रयासमा लागेको र अदालतको फैसला विपरीत चलेको ठहर गर्दै समानान्तर गतिविधि चर्काउने निर्णय गरेको हो । भेलाले फागुन २३ गतेपछि अध्यक्ष ओलीले गरेका सबै निर्णय अस्वीकार गरेको छ ।

दुई दिनसम्म काठमाडौंमा चलेको भेलाले २०७५ साल जेठ २ गतेसम्म कायम रहेका सबै तहका कमिटी तलैसम्म क्रियाशील बनाएर अघि बढ्ने निर्णय गरेको हो । अब नेपाल खनाल पक्षले देशभर बैठक भेला गर्नुका साथै प्रशिक्षण चलाउनेछ ।

अदालतको फैसला विपरित अध्यक्ष केपी शर्मा ओलीले फागुन २३ गतेपछि गुटको बैठक राखेर निर्णय गरी पार्टी विरुद्ध षडयन्त्र गरेको भन्दै नेपाल खनाल पक्षले ओली पक्षका निर्णय अस्वीकार गरेको छ ।

अध्यक्ष ओलीले पार्टी विभाजना गर्न खोजेको भन्दै त्यस विरुद्ध अन्तिम समयसम्म लड्ने निर्णय गरेको छ ।

नेपाल खनाल पक्षको राष्ट्रिय भेलाले २०७५ साल जेठ २ गतेसम्म कायम रहेका सबै कमिटीको क्रियाशीलता र फागुन २३ गतेपछि गरेका सबै निर्णय फिर्तालाई पार्टी एकताको बटम लाइन बनाएको छ ।

फागुन २८ गते अध्यक्ष ओलीले माओवादी केन्द्रका केही नेतालाई केन्द्रीय कमिटीमा राख्ने गरी भएको विधान संशोधन, जिम्मेवारी हेरफेर र खोस्ने कामको विरोध गरेको छ ।

चैत ७ गतेका लागि अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नेपाल खनाल पक्षले नजाने निर्णय गरेको छ । त्यो एमालेको बैठक नभएको यो समूहको तर्क छ ।

पार्टीलाई एकता वद्ध बनाउने हो भने २०७५ साल जेठ २ गतेसम्म कायम रहेको केन्द्रीय कमिटी पोलिट ब्यूरो र स्थायी समितिको बैठक बोलाउन नेपाल खनाल पक्षको माग छ ।

केन्द्रमा देखिएको समूहगत अभ्यास तलैसम्म गर्ने नेपाल खनाल पक्षको यो निर्णय एमाले विभाजनको दिशातिर गएको अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्