Main News

अब यसरी घरघरमा आउँदैछ मेलम्चीको पानी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ५ गते ६:४१
अब यसरी घरघरमा आउँदैछ मेलम्चीको पानी (भिडियो रिपोर्टसहित)

५ चैत २०७७ काठमाडौं । मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुगिसकेको छ । सरकारले सुन्दरीजलसम्म आइपुगेको पानी घरघरमा पठाउने तयारी गरिरहेको छ । योसँगै वर्षौदेखि खानेपानीको समस्या झेलिरहेका उपत्यकाका बासिन्दाको समस्या अन्त्य हुने दिन नजिकिएको छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आएसँगै मेलम्चीको पानी अव छिट्टै घरघरमा पुग्ने छ । गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट सुरुङ मार्ग हुँदै काठमाडौंको सुन्दरीजलसम्म पानी आइपुग्यो ।

मेलम्चीबाट आएको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर परीक्षण गरिनेछ। मेलम्ची खानेपानी विकास समितिका अनुसार पानी परीक्षणको काम चैतको दोस्रो हप्ताबाटै शुरु हुनेछ । योसँगै थोक वितरण प्रणालीबाट उपत्यकामा पानी वितरण गरिनेछ ।

थोक वितरणको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजना, मेलम्ची उपआयोजना २ लाई दिइएको छ । उपआयोजना २ ले पानी वितरणको लागि ११ सय किलोमिटर पाईप बिच्छाउने काम लगभग सकेको छ ।

थोक वितरणाका लागि उपत्यकाको आरुवारी, महांकाल, बाँसबारी, पानीपोखरी, बालाजु, खुमलटार, कीर्तिपुर र बोडेमा पानी ट्याँकी निर्माण गरिएको छ । यस्तै भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माणाधिन छ ।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ र ठाउँ ठाउँमा रहेका ट्यांकीमार्फत उपत्यकामा १ लाख १० हजार नयाँ धारा मार्फत पानी वितरण गरिनेछ । अहिले १५ देखि २० हजार धारामात्रै पानी वितरणको लागि तयार छन् । अरु ठाउँमा पुरानै वितरण पाइपलाईन मार्फत पानी पठाउने तयारी छ ।

मेलम्ची खानेपानीको आयोजनाको पहिलो चरणको काम पूरा भैसकेपछि दोस्रो चरणमा, याङ्ग्री लार्केबाट, ३४ करोड लिटर पानी ल्याउने तयारी छ । यसले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या अन्त्य हुने विश्वास सरकारले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *