राजनीति

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाः एमाले जुटाउला कि फुटाउला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते २०:३६
नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाः एमाले जुटाउला कि फुटाउला ? (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा शुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कारवाही गर्ने चेतावनीको बेवास्ता गर्दै नेपाल खनाल पक्षले भेला गरेको हो ।

भेलाले अध्यक्ष ओलीका एकल निर्णयको प्रतिवाद गर्दै मैदानमा उत्रिएको नेपाल खनाल समूहले आगामी रणनीति तय गर्नेछ । पार्टी एकताका रक्षाका लागि अध्यक्ष ओलीले राजिनामा दिनुपर्ने प्रस्ताव भेलामा पेश गरिएको छ ।

राष्ट्रिय भेला आयोजना गरे कारवाही गर्ने अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको चेतावनीको वेवास्ता गर्दै नेपाल खनाल पक्ष मैदानमा उत्रिएको छ । संस्थापन पक्षले यो भेलालाई पार्टी विभाजनको प्रयास भनेको छ । तर नेपाल खनाल पक्षले त्यसको प्रतिवाद गर्दै एकताकै नारा अगाडि सारेको छ । एमालेको एकता बचाऔं, कम्यूनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने नाराका साथ वरिष्ठ नेता माधवकुमार नेपालले आठ पृष्ठ लामो प्रतिवेदन पेश गर्नुभएको छ ।

नेपाल खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै एकताको रक्षाका लागि पार्टी अध्यक्ष ओलीले राजिनामा दिनुपर्ने प्रस्ताव अघि सारेको छ । वरिष्ठ नेता नेपालले पेश गरेको प्रस्तावमा गल्ती गरेकोले ओलीले राजिनामा दिनुपर्ने उल्लेख छ ।

र, ओलीको ठाउँमा कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने पनि प्रस्तावमा उल्लेख छ । यस्तै गुटका निर्णय खारेज हुनुपर्ने, पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने प्रस्ताव गरिएको छ । यो प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाइएको छ ।

र, त्यो समूहको निष्कर्ष पारित गरेर तीन महिने कार्ययोजना बनाइनेछ । नारा एकताको दिइएको छ, तर तीक्तता यति बढ्दै गएको छ कि अब एमाले एक हुन्छ भन्ने विश्वास नेपाल खनाल पक्षका नेता कार्यकर्तालाई लाग्न छोडेको छ ।

अहिले जे भैरहेको छ, त्यो सबै अध्यक्ष केपी शर्मा ओलीका कारणले हो भन्ने नेपाल खनाल समूहको दावी छ । फागुन २८ गते अध्यक्ष ओलीले विधान संशोधन र एकलौटी रुपमा आफ्नो पक्षका नेताको जिम्मेवारी खोसेपछिको परिणाम यो भेला भएको उसको तर्क छ । वरिष्ठ नेता खनालले त्यसलाई भेलामै प्रष्ट पार्नुभयो ।

खनाल नेपाल पक्ष जस्तै ओली पक्ष पनि आफ्नो तयारीमा छ, उसले भेलामा सहभागी हुनेलाई पार्टी र संसदीय दलको विधान अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

चेतावनी अनुसार कारवाहीमा भएमा यसको प्रभाव तल्लो तहसम्मै पर्नेछ । किनकी भेलामा पार्टी केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद, जिल्ला पार्टी, जनवर्गीय संगठन र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई हजार भन्दा धेरै सहभागी छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्