Main News

कोरोनाविरुद्धको खोप ल्याउन असफल भएपछि सरकारद्वारा खोप अभियान स्थगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १९:०९
कोरोनाविरुद्धको खोप ल्याउन असफल भएपछि सरकारद्वारा खोप अभियान स्थगित (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । खोप ल्याउन नसकेपछि सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको आईसीएसको बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गरेको हो ।

आजदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो । अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको उहाँले बताउनुभयो ।

खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा चलेको थियो ।

अभियानअन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, जनप्रतिनिधि, अग्रभागमा काम गर्ने कर्मचारी, ६५ वर्षमाथिका नागरिक लगायतले खोप लगाएका छन् ।

यसैबीच खोप अभियानको पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्रो मात्रा खोप आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

दोस्रो चरणअन्तर्गत फागुन २३ गतेदेखि हिजोसम्म खोप लगाएकालाई दोस्रो मात्रा खोप दिने मिति भने खोप प्राप्त भएपछि मात्र तय गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *