Main News

ओलीका कारण पार्टी विभाजन, विघटन र विसर्जनको अवस्थामा पुग्योः एमाले नेताहरु

हिमालय टिभी
२०७७ चैत ४ गते १४:३८
ओलीका कारण पार्टी विभाजन, विघटन र विसर्जनको अवस्थामा पुग्योः एमाले नेताहरु

४ चैत २०७७ काठमाडौं। नेकपा एमालेको नेपाल–खनाल पक्षका वरिष्ठ नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन, विघटन र विसर्जनको अवस्थामा पुगेको बताएका छन् ।

आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष ओलीका कारण पार्टी गम्भीर संकटमा परेको बताएका हुन् । वरिष्ठ नेता माधवकुमार नेपालले समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गर्नुभयो ।

ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको नेपालको आरोप छ । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले दाबी गर्नुभयो ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीलाई विभाजन, विघटन र विसर्जनको दिशामा लगेको गम्भीर आरोप लगाउनुभयो ।

वरिष्ठ नेता खनालले नेतृत्वमा आए देखिनै अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी शुरु गरेर पार्टीलाई कमजोर बनाएको आरोप लगाउनुभयो । मदन भण्डारी फाउण्डेशनका नाममा ओलीले तलैसम्म गुटबन्दी गरेको खनालको आरोप छ ।

एमाले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले फागुन २८ गतेको एकलौटी निर्णय फिर्ता लिएर भेलामा सहभागी हुन ओलीलाई आग्रह गर्नुभयो ।

भेलामा सहभागी हुनेलाई कारवाही गर्ने अध्यक्ष ओलीको चेतावनीको पनि शाक्यले प्रतिवाद गर्नुभयो । आफूहरुले गरेको भेला नभई ओलीले बालुवाटारमा गरेको बैठक गुटगत भएका शाक्यको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *