Main News

भारतसँग किनेको खोप नआए पनि दोश्रो डोजलाई समस्या नहुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते २०:२७
भारतसँग किनेको खोप नआए पनि दोश्रो डोजलाई समस्या नहुने (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । भारतसँग किनेको कोरोनाविरुद्धको खोप समयमा नआएपछि दोस्रो चरणको अभियान प्रभावित हुने संकेत देखिएको छ । सरकारले अहिले ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइरहेको छ । तर भारतसँग किनेको खोप समयमा नआए पनि अभियान प्रभावित नहुने सरकारको दाबी छ ।

भारतले अनुदानमा दिएको १० लाख कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार र सरकारले किनेको १० लाख गरी अहिलेसम्म कुल २३ लाख ४८ हजार डोज कोरोनाको खोप नेपाल आएको छ । सरकारले किनेको १० लाख खोप भारतको सिरम इन्स्टिच्युटले दिन बाँकी छ ।

यहीबीचमा औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई पनि कोरोनाविरुद्धको खोप आयात गर्न बाटो खोलेको छ । यसले अब सरकारले थप खोप नल्याउने र नागरिकले खोप लगाउनै नपाउने हुन् कि भन्ने आशंका बढेको छ । तर स्वास्थ्य मन्त्रालय त्यसलाई स्वीकार्न तयार छैन ।

अहिलेसम्म आएको खोप ७७ जिल्लाका ७ सय ५३ वटा स्थानीय तहमा पुर्‍याइएको छ र ६५ वर्ष उमेर पुगेका नागरिकलाई लगाइँदैछ । अहिलेसम्म कोरोना संक्रमणको रोकथाममा खटिएका स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी, सरकारी कर्मचारी, सांसद, पत्रकारलगायत १६ लाख जनाले खोप लगाइसकेका छन् । अब संघीय सरकारसँग १ लाख डोज खोप बाँकी छ भने अरु खोप केन्द्रमा ६ लाख हाराहारीमा कोरोनाविरुद्धको खोप बाँकी छ ।

खोप लगाउन चाहनेको संख्या दिनदिनै बढिरहेको छ । तर सरकारले किनेको थप १० लाख डोज कोभिशिल्ड खोप भारतको सिरम इन्स्टिच्युटले तत्काल दिन नसक्ने बताएको छ । यसले गर्दा खोप लिने थप व्यक्ति र पहिलो डोज लगाएकाले दोस्रो डोज पाउने हो कि हैन भन्ने अर्को शंका बढेको छ । तर सिरम इन्स्टिच्युटले तत्काल खोप नदिए पनि दोश्रो डोज लगाउनेलाई कुनै समस्या नपर्ने सरकारको दावी छ ।

कोभ्याक्स सुविधामा नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप पाउँछ । यसमा झण्डै ६० लाख डोज खोप आउने छ । त्यसमध्येको ३ लाख ४८ डोज खोप आए पनि बाँकी खोप कहिले आउने टुंगो छैन ।

यस्तै सरकारले चीनबाट पनि खोप ल्याउने भनेको छ । तर चीनबाट कति मात्रामा, कहिले खोप ल्याउने भन्ने तयारी छैन। यी सबै खोपका लागि सरकारले कुटनीतिक पहल भने जारी राखेको छ ।

खोप अभियानमा आमनागरिकको सहभागिता उत्साहजनक छ । यो उत्साहलाई निराश नपारी सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने व्यवस्था मिलाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *