राजनीति

धम्की र अहंकारको भाषा नबोल्न अध्यक्ष ओलीलाई नेपाल समूहले दियो चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते १६:५८
धम्की र अहंकारको भाषा नबोल्न अध्यक्ष ओलीलाई नेपाल समूहले दियो चेतावनी (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिनुभएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई शक्ति र धम्कीको भाषा प्रयोग नगर्न चेतावनी दिनुभएको हो । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारवाही हुन सक्ने संकेत गरेका प्रधानमन्त्रीलाई उहाँले अहंकारको भाषा प्रयोग नगर्न सुझाव दिनुभयो ।

कारवाही गरेर राजनीति अगाडि नबढ्ने भन्दै उहाँले आफुहरु कारवाही भोग्न तयार रहेको बताउनुभयो । अंहकारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुखमा दुईथोपा आसु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उहाँले इतिहासको कठघरामा उभिँदा आइपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो । इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेका बेला प्रधानमन्त्री ओलीलाई इतिहासले कठोर कारवाही गर्ने दाबी गनुभयो ।

उहाँले भन्नुभयो “कारवाहीले मुलुक अघि बढ्दैन । राजनीति अगाडी बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अंहकारपूर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुःख छैन । हामी सबै एकपछि अर्को कारवाहीका निम्ति लामबद्ध छांै । कारवाही खानका लागि तयार छौ । हामीलाई कुनै पश्चताप छैन । मुलुकका लागि संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनका लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हिनताबोध छैन । त्यसैले तपाईले गर्ने प्रत्येक कारवाहीका लागि हामी लामबद्ध छौं । जब इतिहासको कठघरामा तपाई उभिनुभएको छ । जब इतिहासले सोधेका प्रश्नको तपाई उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईलाई कठोर कारवाही गर्छ । सायद त्यो बेला तपाईका निम्ति दुईथोपा आँशु चुहाउने मान्छे नहुन पनि सक्ला । त्यसैले धम्कीको भाषा नबोलौं । संयमताका साथ अगाडि बढौं मेरो आग्रह छ ।”

उहाँले पार्टीको इतिहासतर्फ फर्केर हेर्न र दललाई सुदृढ बनाउने काममा लाग्न पनि उहाँले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “म पार्टीको तर्फबाट, सांसदको तर्फबाट अध्यक्षलाई भन्न चाहन्छु दुई बर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने यो बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईलाई दुर्घटनातर्फ लैजान्छ । ”

उहाँले भोलि काठमाडौंमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । देशभरीबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरेर सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “यो भेला तपाईकै हो । तपाई नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईले खटाउनै पर्दैन नजर लगाउन । आफै आउनुहोस् । यो भेलामा को को आएका छन् देशभरीबाट तपाई नै हेर्नुहोस् । प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । उद्घाटन गर्नुहोस् । देशभरबाट आएका तपाईकै कार्यकर्ता हुन् । तपाईकै सदस्य हुन् । के भन्नुहुन्छ उहाँहरुलाई तपाईले भन्नुहोस् । त्यसको निम्ति म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । ”

प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको चियापानमा भोलिको भेलामा पनि नजर लगाउने अभिव्यक्ति दिनुभएको थियो । नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो “यो बुद्धको देशको हो । बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन । प्रधानमन्त्री जी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीलाई म यति मात्रै भन्न चाहन्छु , आज बालुवाटारमा तपाईको भाषा शक्तिको भाषा छ । म विनम्रताका साथ भन्नु चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् । मेरो सबैभन्दा पहिलो अनुरोध छ । ”

एमाले केन्द्रीय प्रचार विभाग प्रमुखसमेत रहेका नेता भट्टराईले दृढताका साथ राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन देशभरका सबैलाई आग्रह र अपिल गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्