राजनीति

भेटिएन एमालेमा मिलनविन्दु: नेपाललाई गलाउने ओलीको रणनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते ५:५८
भेटिएन एमालेमा मिलनविन्दु: नेपाललाई गलाउने ओलीको रणनीति (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेमा संवाद शुरु भए पनि सहमतिको संकेत भने देखिएको छैन । सोमबार भएको छलफलमा नेकपा एमालेको खनाल–नेपाल समूहले फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बतायो भने ओली समूह फिर्ता नहुने अडानमा देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अहिले नेपाल–खनाल समूह पार्टीमा मुख्य बाधक देखिएको छ । तर पेलेरै हिँड्न पनि उसलाई सहज छैन । त्यसैले संवाद शुरु गर्न ओली समूह बाध्य भएको छ ।

लामो समयको अन्तरालपछि भेट भएका नेकपा एमालेका दुई समूहको छलफल वरिष्ठ नेता माधवकुमार नेपालले भनेजस्तै ‘टर्रो’ भएको छ । सर्वोच्च अदालतले पार्टी ब्यूँताइदिएपछि नेकपा एमाले अब कसरी अघि बढ्ला भन्ने धेरैलाई चासो छ । यही चासोका बीचमा दुई समूहबीचको तिक्तता भने बढ्दै गएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताइदियो । लगत्तै खनाल–नेपाल समूहले अब एमालेमै बसेर संघर्ष गर्ने निर्णय गर्‍यो । तर फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधरको बैठक राखेर जिम्मेवारी खोस्ने जस्ता निर्णय गरेपछि खनाल नेपाल समूहको विश्वासमा धक्का लाग्यो ।

अब ओलीले मिल्नका लागि आव्हान गर्ने र आफूलाई सहज नभएसम्म त्यही बसेर संघर्ष गर्ने खनाल–नेपाल समूहको योजना थियो । तर त्यसो नभएपछि यो समूहले पनि छुट्टै योजना बनायो र राष्ट्रिय भेला नै आव्हान गर्‍यो । यसले पेलेरै जाने योजना बनाएको ओली समूह पनि झस्कियो । अझ २८ गतेको निर्णयलाई लिएर देशभरबाट आलोचना बढ्न थालेपछि अध्यक्ष ओली वार्तामा बस्न तयार हुनुभयो । वार्ताका लागि नेपाल समूहलाई बालुवाटारमा बोलाइयो ।

तर नेता नेपालले बालुवाटार जान अश्विकार गर्नुभयो । र धुम्वाराही कार्यालयमा शीर्ष नेताको संयुक्त बैठक भयो । छलफलको केन्द्रमा २८ गतेको निर्णय थियो । नेपाल समूहले त्यो निर्णय फिर्तालाई बटमलाइन बनायो । तर ओली फिर्ता लिन तयार हुनुभएन । अनि वार्ता बिना निष्कर्ष सकियो ।

अध्यक्ष ओलीको प्रस्तुतिबाट नेपाल समूहले सहमति हुने संभावना देखेको छैन । तर एमालेमा खनाल–नेपाल समूहलाई पनि मिलाएर अघि बढ्नुपर्ने दबाब बढ्दै गएको छ । खनाल–नेपाल समूहले राष्ट्रिय भेलाबाट कतै छुट्टै पार्टीको अभ्यास नै शुरु गर्ने हो कि भन्ने डर पनि ओली समूहमा देखिन्छ ।

त्यसैले जसरी हुन्छ त्यो भेला रोक्ने उसको उद्देश्य छ । छलफलमा पनि अध्यक्ष ओलीले भेला रोक्न आग्रह गर्नुभयो । तर नेपाल पक्षले २८ गतेको निर्णय फिर्ता नभएसम्म पछि नहट्ने बताएको छ । भेला रोके २८ गतेको निर्णयबारे छलफल गर्न सकिने ओली समूहको आश्वासन छ ।

एकातिर सबैभन्दा ठुलो दल नेकपा एमालेमा रस्साकस्सी चलिरहेको छ भने अर्कातिर नयाँ सत्तासमीकरणको जोड घटाउ पनि भइरहेको छ । प्रधानमन्त्री ओलीलाई आफनै पार्टीको साथ नभए सत्ता जोगाउन सकिँदैन भन्ने पनि थाहा छ । तर खनाल–नेपाललाई पार्टीमा राखेर आफ्नो बाटोमा अड्चन आउने काम गर्न पनि उहाँ तयार हुनुहुन्न ।

अर्थात ओली अहिले खनाल–नेपाललाई समाउन पनि नसक्ने र छाड्न पनि नसक्ने मनस्थितिमा देखिनुभएको छ । अध्यक्ष ओलीले २८ गतेको निर्णय फिर्ता नलिएसम्म खनाल–नेपाल समूह मिल्न जाने संभावना छैन । तर अहिलेसम्म ओली त्यसका लागि तयार देखिनुभएको छैन । पार्टीका अन्य नेताको जोडबलमा ओली संवादमा त बस्नुभएको छ तर आफ्नो अडानमा भने कायमै हुनुहुन्छ । यो अवस्थामा एमालेमा तत्कालै सहमति भइहाल्ने संभावना देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्