संसदलाई सरकारले दिएन विजनेश, अध्यादेशसमेत पेस गर्न चाहेन (भिडियो रिपोर्टसहित)
२ चैत २०७७ काठमाडौं । सरकारले विजनेश नदिएपछि संसद अधिवेशन अन्योलमा परेको छ । भोली बोलाइएको बैठक पनि शोकप्रस्तावमा सीमित हुने भएको छ ।
सर्वोच्च अदालतले समय नै तोकेर परमादेश दिएपछि सरकारले फागुन २३ गते बस्ने गरी अधिवेशन बोलाएको थियो । अधिवेशनका लागि सरकारले कुनै विजनेश दिएको छैन ।
दर्जनौ विधेयक विचाराधिन रहे पनि सरकारले बैठकमा पेश गर्न चाहेको छैन । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सरकार पक्षका सांसदले भोलिको बैठकमा कुनै कार्यसूची राख्न नहुने बताएका थिए ।
एमाले मुख्य सचेतक विशल भट्टराई, सांसदहरु सान्ता चौधरी र खगराज अधिकारीले दलहरुबीच कुनै सहमति नभएकाले बैठकमा कुनै कार्यसूची नराख्न दबाब दिनुभएको थियो ।
प्रतिपक्षी दलले संसद बैठकमा शीर्ष नेतालाई बोल्न दिनुपर्ने माग गरे पनि सत्ता पक्षका सांसद सहमत भएनन् । सहमति नजुटेपछि संसद सचिवालयले भोलिको बैठकमा शोक प्रस्ताव मात्रै पारित गर्ने कार्यसूची निकालेको छ ।
भोलि अध्यादेश पेश गर्ने विषयमा समेत सहमति जुटेन । सरकार पक्षले नै अहिले अध्यादेश पेश गर्नुपर्ने आवस्यकता नरहेको बताएको थियो । यसलाई अन्य दलले संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारीका रुपमा बुझेका छन् ।
दलहरुबीच नयाँ सत्ता समीकरण बनाउन छलफल चलिरहँदा सरकार भने जतिसक्दो छिटो अधिवेशन अन्त्य गर्न चाहिरहेको छ । अधिवेशन अन्त्य भए अविश्वास प्रस्तावको प्रक्रिया लामो हुनेछ र सरकारको आयु लम्बिने छ ।
पहिलो बैठकमै संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई लिएर विपक्षी दलले अवरोध गरेपछि सरकारलाई बाहना मिलेको छ ।
प्रतिक्रिया