Main News

नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यले लगाए ओलीमाथि यस्तो गम्भीर आरोप

हिमालय टिभी
२०७७ चैत २ गते ७:३३
नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यले लगाए ओलीमाथि यस्तो गम्भीर आरोप

२ चैत २०७७ काठमाडौं । माधवकुमार नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विसर्जनवादी भएको गम्भीर आरोप लगाएका छन् ।

ओलीले एमालेलाई विभाजन गर्ने र कम्युनिस्ट आन्दोलनलाई विर्सजनतिर लैजान खोजेको भन्दै उनीहरुले त्यसविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष ओलीले फागुन २८ मा गरेको निर्णयविरुद्ध निर्वाचन आयोग गएका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्धय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले संयुक्त वक्तव्य जारी गर्दै घटनाक्रमहरु तथा व्यवहारले केपी शर्मा ओलीमा कम्युनिस्ट पार्टीको सदस्यमा हुनुपर्ने राजनीतिक चरित्र, आचरण र नैतिकता बाँकी नरहेको देखाइरहेको उल्लेख गरेका छन् ।

चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण सोचमा रमाउने ओली प्रवृत्तिले पार्टी र आन्दोलनलाई अप्ठ्यारोमा पारेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

ओलीले कम्यनिस्ट पार्टीलाई एकीकृत हुन नदिने, वामपन्थीहरुको नेतृत्वमा सरकार सञ्चालन गर्न नदिने तथा विधि र पद्धतिको रक्षा गर्न नदिने भन्दै माधव समूहका ११ स्थायी कमिटी सदस्यले ओली गुटका पार्टी विधान, सिद्धान्त र प्रणाली विपरीतका क्रियाकलापविरुद्ध दृढताका साथ उभिन देशभरका पार्टी सदस्यहरुलाई आहृवान गरेका छन् ।

अध्यक्ष ओलीले गुटको भेला राखेर नेताहरुलाई पदमुक्त गर्ने, जिम्मेवारी हेरफेर गर्ने र केन्द्रीय सदय मनोनित गर्ने जस्ता अवैध तथा स्वेच्छाचारी काय गरेको उनीहरुको भनाइ छ ।

पार्टीको विधान संशोधन महाधिवेशनले मात्र गर्नसक्ने भन्दै उनीहरुले ओलीबाट गुटको भेला गरी भएका भनिएका पार्टी एकता विरोधी, स्वेच्छाचारी र अवैध निर्णयहरु पूर्णरुपमा अस्वीकार गर्ने घोषणा गरेका छन् ।

उनीहरुले पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन फागुान २८मा भएका निर्णय रद्ध गरेर विधिअनुसार स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

नेकपा एमालेको सिद्धान्त, नीति र विधि आफूहरुको पक्षमा रहेको भन्दै उनीहरुले संयुक्त वक्तव्यमा भनेका छन्, ‘हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरुलाई पराजित गरी छाड्ने छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *