राजनीति

अब के हुन्छ शेरधन राईमाथिको अविश्वास प्रस्ताव ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १ गते २०:५०
अब के हुन्छ शेरधन राईमाथिको अविश्वास प्रस्ताव ? (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ विराटनगर । नेकपाभित्रको विवाद अदालतले राजनीतिक फैसलामार्फत सल्टाए पनि एमालेभित्र अर्को विवाद सुरु भएको छ । यसको असर प्रदेशसम्मै देखिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ। यो सँगै मुख्यमन्त्री विरुद्धको अविश्वास अन्योलमा परेको छ ।

एकीकृत हुन्जेल नेकपा विवादको भुंग्रोमा परेको प्रदेश १ को संसद् अब एमाले विवादको मारमा परेको छ । यसअघि मुख्यमन्त्री शेरधन राई पक्षले नै अविश्वास प्रस्ताव छल्न अवरुद्ध गर्दै आएको प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

फागुन २० का लागि तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर चैत २ का लागि बोलाइएको थियो । आइतबार संसद् सचिवालयले सूचना टाँसेर बैठक स्थगित गर्यो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रदेश सभा अन्योलमा परेको हो ।

माघ ७ गतेदेखि शुरु हिउँदे अधिवेशन अहिलेसम्म राम्ररी चल्नै पाएको छैन । पहिलो दिन तीन मिनेट पनि नचलेको बैठक अनिश्चितकालका लागि स्थगन भयो । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फागुन ९ मा मात्रै टेबल भएको थियो । तर सरकारी पक्षले बहिष्कार गर्यो ।

पटक पटक प्रदेश सभाको बैठक स्थगित भएसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दल रुष्ट छन । प्रदेश सभामा सत्ताको छाँया परेको उनीहरुको प्रतिक्रिया छ । सभामुखलाई बैठक रोक्न लगाएर सरकार प्रदेश सभाबाट भाग्न खोजेको प्रतिपक्षी दलको आरोप छ ।

तत्कालीन नेकपाको प्रचण्ड र नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव लामो रस्साकस्सी पछि फागुन ९ गते टेबल भएपनि छलफलमा भने गएको छैन ।

अविश्वास प्रस्तावमा माओवादीका १५ र एमालेका २२ जनाको हस्ताक्षर रहेकोमा एमालेका ६ जनाले हस्ताक्षर फिर्ता गरिसकेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइ दिएकाले प्रस्ताव अन्योलमा परेको छ ।

नेकपा एक रहँदा अविश्वासको सामना गर्नुपर्ने स्थितिमा पुगेका मुख्यमन्त्री राईको सरकार अब भने सुरक्षित देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ र माओवादी केन्द्रका १६ सांसद छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले अविश्वास फिर्ता लिन निर्देशन जारी गर्नु भएको छ । एमाले ओली समूहका प्रदेश सांसद पनि प्रस्ताव फिर्ता लिएर निकास दिनु पर्ने मत राख्छन ।

समानान्तर कमिटीको अभ्यासमा लागेको एमालेको माधवकुमार नेपाल समूह र माओवादी केन्द्रले अविश्वास प्रस्तावका विषयमा निर्णय लिइसकेका छैनन । केन्द्रको निर्णय अनुसार अघि बढ्ने उनीहरुको तयारी छ । यसर्थ केन्द्रमा विवाद नमिलेसम्म प्रदेशको विवाद पनि समाधान हुने देखिदैन । यसैले प्रदेश सभा कहिले सञ्चालनमा आउँछ यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्