Main News

विप्लव शान्तिपूर्ण राजनीतिमा आएलगत्तै गोइतले किन बम पड्काए ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १ गते २०:३३
विप्लव शान्तिपूर्ण राजनीतिमा आएलगत्तै गोइतले किन बम पड्काए ? (भिडियो रिपोर्टसहित)

१ चैत्र २०७७ काठमाडौं । तराई जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीले हिंसात्मक गतिविधि शुरु गरेको छ । जयकृष्ण गोइत नेतृत्वको यो समूहले पृथकतावादको नारामा हिंसा मच्चाउन संकेत गरेको छ । विप्लव नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याएलगत्तै यो समूहले सरकारलाई चुनौती दिने गरी बम विष्फोट गराएको छ ।

विप्लव नेतृत्वको नेकपासँग सहमति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अब हिंसा अन्त्य भएको दाबी गर्नुभयो । पृथकतावादी गतिविधि गर्दै आएको सीके राउत समूहलाई दुई वर्ष अघि र विप्लव नेतृत्वको नेकपालाई दुई हप्ता अघि सरकारले शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो । चामत्कारिक जस्तै लाग्ने गरी यी दुई समूहलाई मूलधारमा ल्याउन सरकार सफल भयो ।

प्रधानमन्त्रीको जस्तै नेपाली जनताको चाहना पनि यही नै हो र छ । तर देशमा फेरि पृथकतावाद र हिंसा मच्चाउन कोशिस शुरु भएको छ । जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका नाममा आज गराइएको बम विष्फोट त्यसैको संकेत हो ।

पृथकतावादको नारा
गोइत समूहले पृथकतावादको नारा दिएर नै यस्तो भीडभाडयुक्त ठाउँमै विष्फोट गराएर आम नागरिकको ज्यानलाई निशाना बनाएको छ । सीके राउत समूहलेझैं यो समूहले पनि तराई मधेशमा अलग राष्ट्रको नारा दिएर तराई मधेशका नागरिकमा भ्रम छर्ने कोशिस गरेको छ, जुन नेपालको राष्ट्रिय अखण्डताको विरुद्धमा छ । नेपालले पछिल्लो पटक जारी गरेको नयाँ नक्सालाई अस्वीकार गर्दै यो समूहले स्वतन्त्र तराई राष्ट्रलाई नेपालको नक्सामा राखिएको भनेर आपत्ति जनाएको छ । मेचीदेखि महाकालीसम्म र महाभारत पर्वत श्रृंखलादेखि भारतको सीमानासम्मलाई उसले तराई स्वतन्त्र राष्ट्र भनेको छ ।

हिंसात्मक गतिविधि
भूमिगत भए पनि केही वर्ष निस्तेज र निष्क्रिय जस्तै देखिएको गोइत समूह फेरि हिंसात्मक गतिविधिमा फर्किएको छ । वामपन्थी पृष्ठभूमिका गोईत जनतान्त्रिक तराई मुक्ति मोर्चा, अखिल तराई मुक्ति मोर्चा हुँदै अहिले जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका नाममा सक्रिय भएका छन । र, पृथकतावादको नारा अगाडि सार्दा हुने हिंसाको सहारा लिएका छन ।

सिरहाको लहानमा ज्यानै जाने सक्ने गरी गराइएको कुकर बम विष्फोट त्यसको प्रमाण हो । त्यतिमात्रै होइन, आठ जना घाइते भएको यो घटनामा उनले गर्वका साथ जिम्मेवारी लिएका छन् । आफू जस्तै मान्छे मृत्यूको मुखमा पुगेकोमा उनलाई कुनै पछुतो छैन ।

बरु अझ ठूलो घट्ना गराउने उनको धम्की छ । मुलुकबाट पृथकतावाद र हिंसा अन्त्य भएको प्रधानमन्त्रीको दावीलाई मात्रै उनले अस्वीकार गरेका छैनन् । उनले भ्रष्टाचार बढेको भन्दै त्यसैका आडमा हिंसा मच्चाउने धम्की दिएका छन ।

विप्लव शान्तिपूर्ण राजनीतिमा आउने वित्तिकै हिंसा ?
त्यसो त ०६१ सालमा स्थापना भएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले त्यतिबेला देखिनै पृथकतावादी नारा दिएर सशस्त्र गतिविधि गरिरहेको थियो । सरकारको निशानमा परेपछि निष्क्रिय भएको थियो ।

तर अहिले यो समूह एकाएक यस्तो बेला सक्रिय हुन थालेको छ,जतिबेला पृथकतावाद र हिंसात्मक राजनीति अन्त्य भयो कि भनेर विश्वास गर्न थालिएको थियो । विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउने वित्तिकै गोइत समूहले हिंसात्मक गतिविधि बढाउनु निकै अर्थपूर्ण छ । केही वर्ष चुपचाप जस्तै रहेको यो समूह एकाएक कसरी आयो यो निकै गम्भीर चासोको विषय हो । सरकार र सरोकारवाल सबैले यसमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *