शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण

१ चैत २०७७ काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ ।
शिक्षण अस्पतालका चिकित्सकहरुले ८ घण्टा लगाएर गएराति कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।
काभ्रे घर भएका यी बालकको डेढ महिनादेखि प्रत्यारोपणका लागि तयारी गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्राध्यापक डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिनुभयो ।
उहाँकै नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण शुरु भएको थियो । त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेरमा गरिएको यो पहिलो प्रत्यारोपण रहेको शिक्षण अस्पतालले दावी गरेको छ ।
प्रत्यारोपणमा सघाउन भारतबाट चिकित्सकको एउटा टोली पनि आएको थियो । मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि झण्डै एक वर्ष यी दुवै सेवा रोकिएका थिए ।
हाल आएर यो सेवा सुरु भएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी सुरु भए यताको यो नै पहिलो हो ।
प्रतिक्रिया