राजनीति

पार्टीका आलाेचकविरुद्ध अध्यक्ष ओली झन आक्रामक : बैठकमा नआए कार्वाही गर्ने ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते २०:४६
पार्टीका आलाेचकविरुद्ध अध्यक्ष ओली झन आक्रामक : बैठकमा नआए कार्वाही गर्ने ! (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना आलोचकलाई पेलेरै अघि बढ्ने स्पष्ट चेतावनी दिनुभएको छ । एकलौटी रुपमा बैठक राखेर पार्टीको खनाल–नेपाल समूहका नेताको जिम्मेवारी खोसेको अर्कोदिन अध्यक्ष ओली झन आक्रामक रुपमा पेश हुनुभयो । उहाँले अब आफुले बोलाएको बैठकमा आउने र भनेको खुरुखुरु मान्ने भए ठिक छ नत्र कारवाही गरेर अघि बढ्छु भन्ने सन्देश पनि दिनुभएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई समेटेर अघि बढने अपेक्षा गरिएको थियो । तर अध्यक्ष ओलीका पछिल्ला गतिविधि र अभिव्यक्ति भने त्यसको ठिक विपरीत देखिएका छन् ।

उहाँ नेपाल–खनाल पक्षलाई पेलेरै अघि बढ्ने तयारीमा लागेको देखिएको छ । पार्टी निकट महिला संघले काठमाडौंमा गरेको भेलामा अध्यक्ष ओली पुरानै अन्दाजमा प्रस्तुत हुनुभयो । चैत ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन खनाल–नेपाल पक्षलाई आग्रह गर्दै उहाँले नआए विधानअनुसार अघि बढ्ने भन्दै चेतावनी पनि दिनुभयो ।

बाहिरबाहिर बैठक गर्दै हिँडेको भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो । नेपाल–खनाल समूहले पार्टीभित्रै ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने भनेकोमा आक्रोशित देखिएका ओलीले आफूलाई ठेगान लगाउन खोजे ठिक नहुने चेतावनी पनि दिनुभयो ।

सम्बोधनको अधिकांश समय सरकारका कामको बखान गरेका अध्यक्ष ओलीले बाँकी समय भने खनाल–नेपाल समूहको आलोचनामा बिताउनु भएको थियो । आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भनेपनि आफूले कसैलाई कतैबाट ननिकालेको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले शुक्रबारको बैठकमा नेपाल–खनाल समूह सहभागी नभएको पनि बताउनुभयो । जबकी उक्त बैठकमा खनाल–नेपाल समूहलाई बोलाइएकै थिएन । अब यस्ता तत्वलाई सवक सिकाउने ओलीको चेतावनी छ ।

प्रधानमन्त्री ओली अझै रोकिनु भएन । उहाँले आफुले चुनाव घोषणा गर्दा लोकतन्त्रविरोधी भन्नेले अब के गर्छन् भन्दै प्रश्न पनि गर्नुभयो । अहिले आफूलाई हटाउन प्रधानमन्त्री भइदिन पर्‍यो भन्दै निवेदन हाल्ने काम भइरहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि व्यङ्ग्य गर्नुभयो ।

एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि पार्टीकै केही नेतामा रुवाबासी भएको भन्दै अध्यक्ष ओलीले व्यङ्ग्य गर्नुभयो । उहाँको आक्रमकता हेर्दा नेकपा एमालेमा मिलनविन्दु निकै टाढा रहेको स्पष्ट देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्