नेपाल–खनाल समूहले शुरू गर्यो समानान्तर पार्टीको अभ्यास,चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय

२९ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) नेपाल–खनाल समूहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
आज नेकपा(एमाले) नेपाल–खनाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।
कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, संघीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय कमिटी सदस्य, प्रदेश पदाधिकारी केन्द्रीय विभागका सदस्य र जिल्ला अध्यक्षहरु उपस्थित हुने नेकपा(एमाले) नेपाल–खनाल समूहका नेता भीम रावलले जानकारी दिनुभयो ।
राष्ट्रिय भेलाले महत्वपूर्ण निर्णय गर्ने उहाँको भनाइ छ । आजको भेलाले प्रधानमन्त्री ओलीले नेकपा(एमाले)लाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेरसम्बन्धी निर्णय गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरित रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यो भेलाबाट हामीले नेकपा(एमाले) को एकतालाई टुटाउने, पार्टी फुटाउने गरी जसरी पार्टीका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीले बालुवाटारमा हिजो आफ्नो गुटको भेला गरेर जुन प्रकारको निर्णय गर्नुभएको छ, त्यसलाई हामीले अस्वीकार गरेका छौँ । त्यसको भर्त्सना गरेका छौँ । त्यसको निन्दा गरेका छौँ । नेकपा(एमाले) को विधानविपरीत, नियमावलीविपरीत, यसको प्रणालीविपरीत र यसको कार्यशैलीविपरीत जसरी काम गर्नुभयो । त्यो अत्यन्त आपत्तिजनक छ, अवैध र उहाँले जुन प्रकारले घोषणा गर्नुभयो त्यो हाँस्यास्पद पनि छ । यसले कुनै विधि, प्रणाली, प्रक्रियाको अवलम्बन गरेको छैन र त्यो बैठक बारेमा केन्द्रीय कमिटीका पदाधिकारीहरु, सदस्यहरुलाई जनकारी पनि गराइएको छैन ।’
नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधानविपरीत अवैध तरिकाले माओवादी(केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘अझ हाँस्यास्पद कुरा त के छ भने उहाँले त्यो बैठकबाट सर्वोच्च अदालतको फैसलाविपरीत अर्को पार्टी नेकपा(माओवादी केन्द्र)मा रहेका व्यक्तिहरुलाई नेकपा(एमाले)मा मनोनयन गरे भनेर अर्को अवैध र हाँस्यास्पद निर्णय गर्नुभएको छ । हाम्रो पार्टीको विधान अनुरुप कुनै पनि व्यक्ति केन्द्रीय कमिटीमा आउनका लागि वा मनोनयन गर्नका लागि स्पष्ट व्यवस्था गरिएको छ । थप सदस्य मनोनयन गर्ने अधिकार छैन । जानकारी नगराइएको बैठक, बहुमत नपुगेको बैठकको निर्णय अवैध छ । विधि, प्रणालीविपरीत छन् । अमान्य छन् ।’
नेपाल–खनाल समूहको भेलाले केही नेताहरुलाई जिम्मेवारी समेत दिएको छ । प्रदेश नं. १ को इन्चार्जमा भीम आचार्य, प्रदेश नं. २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावललाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी रघुजी पन्तलाई युवा, गोकर्ण विष्टलाई विद्यार्थी, प्रमेश हमाललाई बुद्धिजीवी र योगेश भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया