Main News

मन्त्री र सांसद पद गएपनि प्रधानमन्त्री ओलीको साथ नछोड्ने उर्जामन्त्री रायमाझीको घोषणा

हिमालय टिभी
२०७७ फागुन २९ गते १६:१३
मन्त्री र सांसद पद गएपनि प्रधानमन्त्री ओलीको साथ नछोड्ने उर्जामन्त्री रायमाझीको घोषणा

२९ फागुन २०७७ काठमाडौं । नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पार्नु भएको छ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरुका लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकाले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’

कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले देश विकास र समृद्धिका लागि सही एजेण्डा बोकेकाले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिनुभयो । उहाँले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाका लागि मात्रै विरोध गरेको टिप्पणी गर्नुभयो ।

मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी छ’ को संज्ञा दिनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाउनुभयो । देशलाई अस्थिरतरताबाट बचाउनका लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भए पनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले बताउनुभयो । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उहाँले दाबी गर्नुभयो ।

उहाँले आफूले मोहनविक्रम सिंहको पार्टीबाट राजनीति शुरु गरेको भन्दै यो बीचमा विभिन्न कम्युनिष्ट घटक हुँदै माओवादीसम्म आइपुगेको र अहिले माओवादीबाट एमाले भएको बताउनुभयो । आफू सही विचार र नीतिको राजनीति गर्ने व्यक्ति भएकाले अहिले ओलीले बोकेको विचार सही भएकाले यता लागेको पनि रायमाझीले स्पष्ट पार्नुभयो । तर, कम्युनिष्ट पार्टी छोडेर कांग्रेस वा राप्रपामा भने नजाने उहाँले बताउनुभयो ।

तपाईँले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार भएको कुरा उठाउनुभएको थियो, तपाईँ त मन्त्री हुनुहुन्छ, जनतालाई यो विषयमा अलिक प्रष्ट पारिदिनुहोस न भनेर पत्रकारले सोधेको प्रश्नमा उहाँले आफूले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा प्रसंगबस उठाएको पनि स्पष्ट पार्नुभयो । बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरुको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकाले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको बताउनुभयो ।

उहाँले भन्नुभो,‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो । व्यापक रुपमा यो विषय उठाउनुभयो । पहिले पनि उठिराखेकै थियो । त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबल, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो । हो, मैले भनेको कुरा के हो भने–हो, यी कुरा उठेका छन् । यस विषयमा कुनै न कुनै निकायले, यसको खोजी नीति हुनेछ । मैले यत्ति भनेको हो । मैले आफै उब्जाएर भनेको होइन । उठेको प्रश्नको मैले यसरी जवाफ आयो ।’

त्यसो भए क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उहाँले भन्नुभयो–‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *