Main News

पार्टी फुटाउने ओलीको निर्णयविरुद्ध नेपाल समूहको यस्तो आव्हान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते ६:४२
पार्टी फुटाउने ओलीको निर्णयविरुद्ध नेपाल समूहको यस्तो आव्हान (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयविरुद्ध एकजुट हुन कार्यकर्तालाई आव्हान गरेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्षबाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेलगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधानविपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । साथै बैठकले कार्यकर्तालाई एकजुट हुन आग्रह पनि गरेको छ । संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठक पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिदै नेता भीम रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम विरुद्ध सबैलाई एकताबद्ध गरेर नेकपाको रक्षाका लागि अग्रसर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “ प्रधानमन्त्री जस्तो मान्छेले खुलेआम पार्टीको विधान र सम्पूर्ण प्रावधान मिचेर जसलाई पायो त्यसलाई निकालिन्छ भने यो जस्तो निर्लज्ज कुरा केही पनि हुन सक्तैन । २०४६ सालदेखि लगातार काम गर्ने मान्छेलाई अपमान गरेर पद र अवसरका लागि विभिन्न स्थानमा गएकालाई नेकपा एमालेमा स्वागत छ भनेर कम्युनिष्ट आन्दोलनलाई धारासायी पार्ने काम भएको छ । ”

उहाँले बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरीत काम गर्न नमिल्ने तर्क गर्नुभयो । उहाँले बाधा अड्काउ फुकाउने विषय पनि केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्ने स्पष्ट पार्नुभयो । उहाँले प्रतिनिधिसधभा विघटन गरेर लोकतन्त्रमाथि प्रहार गर्ने काम गरेका प्रधानमन्त्री ओलीको पछिल्लो निर्णय लोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको टिप्पणी गर्नुभयो ।

उहाँले बैठकमा सहभागी अधिकांश नेताले नेकपा एमाले फुटाउने र कम्युनिष्ट आन्दोलनलाई सकाउने उद्देश्यसहित गरिएको निर्णय भएको भन्दै प्रधानमन्त्री ओलीको निर्णयको विरोधमा सबैलाई एकतावद्ध हुन आव्हान गर्ने धारणा राखेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *