Main News

कांग्रेस र जसपाका शीर्ष नेताबीचको छलफल सहमति जुटेन, थप छलफल गरिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २८ गते १९:०५
कांग्रेस र जसपाका शीर्ष नेताबीचको छलफल सहमति जुटेन, थप छलफल गरिने (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ ।

आज देउवा निवास बुढानीलकण्ठमा नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो । छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरुले बताएका छन् ।

छलफलका क्रममा जसपा नेताहरुले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, नागरिकताको समस्या समाधान लगायतका आफ्ना एजेण्डाहरु प्रस्तुत गरेको जसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो । कुनै सहमति नभएको र बृहत छलफलको आवश्यकता रहेको ठाकुरको भनाई छ ।

उहाँले भन्नुभयो – ‘कांग्रेससँग सबै विषयमा कुराकानी भयो । अहिलेको अवस्थामा मिलेर जाने विषयमा र हामीले पनि आफ्नो एजेण्डा राख्यौँ । हाम्रो एजेण्डा जुन छ, त्यो अब हाम्रो साथीहरु जुन जेलमा छन् तिनीहरु छोड्नुपर्छ राजबन्दीहरुलाई । नागरिकताको प्रब्लम समाधान हुनुपर्छ । त्यसपछि मुद्दा फिर्ता हुनुपर्छ । यो कुरा हामीले भन्यौँ । उहाँहरुले सबै मिले जाऔँ । हामी तपाईहरुको कुरा सुन्न आएको हो भन्ने हाम्रो भनाइ थियो । तपाईहरु के भन्नुहुन्छ, पछि हामी विचार गरौँला भन्यौँ । अहिले केही सहमति भएको छैन । मिलेर जान त सबैले भन्छन् ठिक छ मिलेर जाऔँ । बृहत छलफलको आवश्यकता छ । माओवादीसँग पनि कुरा गर्छौ भनेको ।’

नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको र कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘खुला रुपमा अहिलेको सन्दर्भमा एउटा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने सन्दर्भमा मत, अभिमत सबैबाट प्रकट भएको छ । ठोस रुपमा यो कुरामा नै हामी टुंगोमा पुगेका छौ भनेर भनिहाल्ने बेला भएको छैन । तर संसदको पुनर्स्थापना पछाडी अबको राष्ट्रिय राजनीतिले हिँड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरुले अपेक्षा पनि राख्नुभयो । राष्ट्रिय राजनीतिले एउटा निकास दिनुपर्ने र त्यो निकास तर्फ अगाडी बढ्दै गर्दाखेरी नेपाली कांग्रेस पार्टी, नेकपा(माओवादी केन्द्र) र जसपा पार्टी दलहरु एकठाउँ उभिने परिस्थिति बन्नु उचित हुन्छ भन्ने धारणा उहाँहरु बाट आयो ।’

प्रवक्ता शर्माले नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि ओली सरकारको विकल्पतर्फ अग्रसरता लिने बारे छलफल भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *