Main News

अब पशुपतिनाथको मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहने

हिमालय टिभी
२०७७ फागुन २८ गते १६:१७
अब पशुपतिनाथको मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहने

२८ फागुन २०७७ काठमाडौं । महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

विसं २०७६ चैत ११ गते कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो । बिहीबार महाशिवरात्रिपछि आजदेखि भने विसं २०७६ चैत १० गतेसम्म खुला गरिएअनुसार मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिनुभयो ।

आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ ।

विशेष पूजा निरन्तर
कोरोनाकालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि शुरु गरेको छ । हाल रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । महाशिवरात्रिका अवसरमा बिहीबार भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गरिएको थियो । महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई जना र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चार कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि तय गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताउनुभयो ।

शनिबार साधु सन्तको बिदाइ
महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउनुभएका साधुसन्तलाई शनिबार दक्षिणासहित बिदाइ गरिने भएको छ । शनिबार बिहान ९ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम राखिएको कार्यकारी निर्देशक खतिवडाले सुनाउनुभयो । यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ ।

साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्नुभएका सामग्री दिएर बिदाइ गरिन्छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।

साधुसन्तको बिदाइ नभएकाले पशुपति क्षेत्रमा आज पनि भक्तजनको चहलपहल छ । महाशिवरात्रिका अवसरमा बिहीबार मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाएका भक्तजन आज बिहानदेखि भीड लागेको कोषले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *