Main News

नेपालबाट महिला लगेर यौनधन्दा गराउने चमेली यसरी पक्राउ परिन्

हिमालय टिभी
२०७७ फागुन २८ गते १५:२६
नेपालबाट महिला लगेर यौनधन्दा गराउने चमेली यसरी पक्राउ परिन्

२८ फागुन २०७७ काठमाडौं । नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ ।

प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको पत्ता लागेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । उनका विषयमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरी अनुसन्धान जारी छ ।

पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहानामा काठमाडौँबाट लगेको अनुसन्धानबाट देखिएको छ । त्यसपछि गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित तामाङको कोठीमा पु-याएर बिक्री गरेको खुलेको नेउपानेले बताउनुभयो ।

त्यसपछि तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनका सहयोगी अन्यको खोजी जारी रहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *