राजनीति

मैले मर्न पनि तयार भएर केपी प्रवृत्तिविरुद्ध प्रहार गरेको हुँः प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २७ गते १६:०४
मैले मर्न पनि तयार भएर केपी प्रवृत्तिविरुद्ध प्रहार गरेको हुँः प्रचण्ड (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्न परेपनि तयार भएर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभएको छ ।

आज केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न परेपनि तयार रहेर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभएको हो ।

केपी प्रवृत्तिकाविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति भएको उहाँको भनाइ छ । देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला भइराखेको भन्दै उहाँले सजग भएर त्यसविरुद्ध आफ्नै खुट्टामा उभिएर लड्नुपर्ने बताउनुभयो ।

अरुसँग एकीकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै उहाँले आगामी दिनमा पुराना साथीहरु एकताबद्ध गरेर अगाडी बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अब अहिले देशको परिस्थिति अलिकति जटिल छ । चुनौतीपूर्ण छ । मैले भनेकै थिएँ, केपी प्रवृत्तिका विरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरी अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभुति मलाई भएकै थियो भएकै छ । र त्यसले चिनियाँ आन्दोलनमा बमबार्द द हेडक्वाटर भन्ने हामी सबैले हिजो पढ्थ्यौँ नि । बुर्जुवा हेडक्वाटरमा बम बर्साउ । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, षड्यन्त्रकारी लिडरशिपमाथि बम बर्साउ भन्या हो । मैले केपी प्रवृतिका विरुद्ध जानीबुझी योसँग अब सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म अब फेरी जेल जान परेपनि तयार, मर्न परेपनि तयार तर यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हो । तपाईहरुले सायद त्यो पढ्नु भएको छ होला । त्यो अहिले युद्ध भएर हिंसामा जाने कुरा त त्यहाँ मैले गरेको पनि होइन । अहिले नै त्यो परिस्थिति पनि होइन । तर जसरी युद्ध भनेको हिंसासहितको राजनीति हो हामीले गरेको त राजनीति थियो नि त युद्धमा पनि । सामन्तवादका विरुद्ध, निरंकुशतन्त्रका विरुद्धको राजनीति गरेको हो युद्धमार्फत । अहिले फेरि शान्तिमार्फत हामीले युद्ध गरेको हो । प्रतिक्रियावादी विचारका विरुद्ध, प्रवृत्तिका विरुद्ध, दक्षिणपन्थका विरुद्ध, फेरि एउटा नयाँ युद्ध गरेकै हो । त्यो युद्ध अहिले चलिराखेको छ कमरेडहरु । त्यो युद्ध अहिले चलिराखेकै छ । हामीले संसद विघटनका विरुद्धको यो संविधान खारेज गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौँ । र त्यो ब्याटल त हामीले जित्यौँ तर हामीले वार चाहिँ जितेका छैनौँ । अझैपनि ठुल्ठुला षड्यन्त्र भइराख्या छन् । तपाई हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ । त्यसकारण हामी सबै सजग भएर फेरि एकपटक आफ्नै खुट्टामा उभिने । हामीले योसँग मिले होला कि त्योसँग मिले होला कि यो गरे होला कि त्यो गरे होला कि भनेर धेरै गरियो । तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहीँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै पनि हो । अहिले फेरि हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने । अब सबै क्रान्तिहरुमाथि नै भरपर्ने । क्रान्तिकारी विचार र क्रान्तिकारी साथीहरुमाथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले नै मैले नयाँ जनयुद्ध शुरु गरेको पनि हो ।’

अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धी र आन्दोलन रक्षाको निम्ति आफुले देशव्यापी अभियान चलाउने समेत बताउनुभयो । दुईचार वर्ष जनताको बिचमा गएर अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘फेरि जनतासँग जोडिने, फेरी देशव्यापी अभियान चलाउनेतिर मैले सोचिराखेको छु । म काठमाडौंभन्दा अभियानमा बढी बस्ने विचार छ । फेरी दुईचार वर्ष जनताको विचमा गएर किनभने प्रतिक्रियावादी देशभित्र र बाहिरकाले निकै ठुलो षड्यन्त्र हाम्रा राष्ट्रका विरुद्ध, हाम्रो आन्दोलनका विरुद्ध, हाम्रा उपलब्धी, परिवर्तन र उपलब्धीमाथि धावा बोल्ने कोहिस गरेका छन् त्यसलाई परास्त गर्नुछ । मलाई विश्वास छ हामीले परास्त गरिन्छ । हामीले आफ्नै धरतीमा टेकेर मात्रै परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर मात्रै परास्त गर्न सकिन्छ । हामी देशका सबै सहर बजारका टोलटोल गल्लीगल्ली र गाउँघर पाखा पखेरा सबैतिर मजदुर किसान जसरी हिजो हामीले दलित, महिला, मुस्लीम आदिबासी जनजाति, मधेसी सबै सबै वर्ग तहतप्काका जनतालाई अधिकार सम्पन्न गर्ने लडाइँ लड्यौँ र हामीले जित्यौँ । हामी फेरि एकचोटी अभियान चलायौँ भने अहिले युद्ध गर्नुपर्ने स्थिति छैन । अहिले शान्तिपूर्ण ढंगले नै हामी आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलायौँ भने प्रतिक्रियावादीहरु परास्त हुन्छन् । हामी जित्छौँ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले उमेरको कारणले आफु पछि नहट्ने पनि बताउनुभयो । अझैपनि क्रान्तिमा अगाडी बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफुले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो –‘एकचोटी फेरी कोर्स करेक्शन गरेर प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्न अगाडी बढ्नुपर्छ भन्ने संकल्प मैले लिएको छु । यद्यपि, जनयुद्ध शुरु गर्ने बेलामा म ४२÷४३ वर्षको थिँए । अब अहिले ६६÷६७ वर्षको भएँ । उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन् ल अब उमेर भएका त छोडिदिनुपर्छ भन्छन् । म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा अगाडी जाने छु । तपाईहरु यो कुरामा चाहीँ विश्वस्त रहनुहोला । म छोड्नेवाला चाहिँ छैन । म लड्नेवाला नै छु । मैले लडे अहिलेपनि एउटा ब्याटल त लडे मैले अहिले र त्यो बाटल हामीले जित्यौँ पनि । र अरु दुईचार वटा ब्याटल जित्न बाँकी छ । र हामीले जित्नैपर्छ ।’

अध्यक्ष प्रचण्डले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताउनुभयो । आगामी केन्द्रीय समितिको बैठकले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्