Main News

पशुपतिमा छैन महाशिवरात्रिको रौनक, यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते २०:२३
पशुपतिमा छैन महाशिवरात्रिको रौनक, यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । पाशुपत क्षेत्रमा भोलि हुने शिवरात्रि पर्वको सबै तयारी पूरा भएको छ । कोरोना महामारी कायमै रहेकाले यो वर्ष मास्क नलगाउनेलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने भएको छ ।

यस वर्ष पहिलेभन्दा कम श्रद्धालुले मात्र पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । भारतबाट आउने साधुसन्तको सङ्ख्या पनि निकै कम छ । शिवरात्रिको तयारी कसरी भइरहेको छ भनेर बुझ्न हामी पाशुपत क्षेत्रमा पुगेका छौं ।

पशुपतिमा पोहोर परारजस्तो शिवरात्रिको रौनक छैन । नेपाल र भारतका विभिन्न ठाउँबाट शिवरात्रिकै लागि भनेर साधु बाबा पशुपति आएका छन् । र उनीहरुले धेरैलाई अकर्षित पारेका छन् ।

उनीहरु भजन गाउँदै र धुनी जगाउँदै पाशुपत परिसरमा बसेका छन् ।

पोहोर परार पशुपति वरपर साधुसन्तको भीड हुन्थ्यो । यसपाली कोरोनाका कारण साँधु सन्त र बाबाहरुको उपस्थिति कम भयो । त्यसैले शिवरात्रि केही खल्लो छ ।

भक्तजनहरु पनि विभिन्न स्थानबाट पशुपतिमा पुगेका छन् । अहिले गरिएको व्यवस्थापन उनीहरुलाई राम्रै लागेको छ ।

पशुपतिमा शिवरात्रिमा आउने भक्तजनको व्यवस्थापनका लागि ४ हजार स्वंयसेवकहरु परिचालन गरिएको छ ।

पशुपतिनाथको मन्दिर नजिकै मूल स्वास्थ्य शिविर राखिएको छ। ३० वटा संस्थाले स्वास्थ्य सेवा प्रदान गर्नेछन्। यस्तै एम्बुलेन्स र आपतकालीन अवस्थाका लागि दमकल समेत रहने व्यवस्था मिलाइएको छ ।

नित्य दर्शनका लागि बिहान ७ बजे भित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा दर्शनार्थीलाई भौतिक दूरी कायम गर्दै स्यानिटाइजर र माक्सको प्रयोगलाई अनिवार्य गरिएको छ ।

पशुपतिको हंस मण्डपमा ५० वटा समेत गरी वनकाली र तीलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । यहाँ ९५ वटा संघसंस्थाले निशुल्क भोजन, पानी, चिया वितरण गर्दैछन्।

साधुसन्तहरुका लागि वनकाली र तिलगंगा क्षेत्रमा निशुल्क खाना सहित आवासको व्यवस्था मिलाईएको छ। शिवरात्री सम्पन्न भएपछि बाटो खर्च सहित साधुसन्त र जोगीबाबाको विदाई गरिने छ। पशुपति क्षेत्रमा गाँजा भाङ जाँड रक्सी जस्ता नसालु पदार्थ निषेध गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *