राजनीति

समर्थन यथावत् राख्दै ओलीको विकल्प खोज्ने माओवादी केन्द्रको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते १४:३६
समर्थन यथावत् राख्दै ओलीको विकल्प खोज्ने माओवादी केन्द्रको निर्णय (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल समर्थन कायमै राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय गरेको छ ।

तत्काल समर्थन फिर्ता लिँदा फेरि सरकार बन्न नसक्ने अवस्था सिर्जना हुने र मुलुक मध्यावधिमा जान सक्ने आँकलन गर्दै माओवादी केन्द्रले अहिले समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिने बरु कायमै राखेर अरु पार्टीसँग सत्ता सहकार्यका लागि छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले नयाँ सत्ता समीकरणबारे अरु पार्टीरूसँग छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई जिम्मा दिएको छ । पार्टीको अहिलेको प्राथमिकता कांग्रेस लगायतका दलसँग सहकार्य गरेर ओली सरकारको विकल्प खोज्नु रहेको पनि माओवादी केन्द्रका नेता श्रेष्ठले जानकारी दिनुभयो । तर प्रधानमन्त्री ओलीले राजिनामा दिएमा पार्टी एकता पनि हुने र सरकार पनि बन्न सक्ने श्रेष्ठको भनाई छ ।

अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल सकारात्मक रहेको र जनता समाजवादी पार्टीसँग गम्भीर ढंगले छलफल हुन नपाएको पनि जानकारी गराएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुभयो ।

हिजो बसेको बैठकले सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । र, त्यसै अनुसार अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेट्नुभएको थियो ।
यसैबीच नेकपा माओवादी केन्द्रले संगठनात्मक कार्ययोजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले चैत २ गते हुने राष्ट्रिय भेलामा सहभागी हुनेहरुका लागि मापदण्ड तय गरेको छ ।

माओवादी केन्द्रको हिजो बसेको स्थायी समिति बैठकले केन्द्रीय कमिटी बैठक १ गते र राष्ट्रिय प्रशिक्षणात्मक भेला २ गते गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्