Main News

हिमाल आरोहण गर्नेहरुले अब जथाभावी फोटो र भिडियो खिच्न नपाउने

हिमालय टिभी
२०७७ फागुन २६ गते ९:१३
हिमाल आरोहण गर्नेहरुले अब जथाभावी फोटो र भिडियो खिच्न नपाउने

२६ फागुन २०७७ काठमाडौं । सरकारले जथाभावी सगरमाथासहितका हिमालहरुको तस्वीर र भिडियो खिच्नमा कडाइ गर्ने भएको छ ।

हिमाल आरोहणका क्रममा आरोहीहरूले जथाभावी फोटो तथा भिडियो खिचेर सार्वजनिक गर्ने क्रम वृद्धि हुँदै गएपछि पर्यटन विभागले नयाँ नियम ल्याउँदै यसमा कडाइ गरेको छ ।

विभागले निर्धारण गरेको नयाँ नियममा, ‘कुनै पनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङसम्बन्धी काम गर्दा आफू सम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक अन्यको फोटो, भिडियो खिच्ने तथा फिल्मिङ सम्बन्धी काम गरी त्यसको प्रचारप्रसार तथा प्रकाशन गर्न पाइने छैन’ भनेर उल्लेख गरिएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले यो नियम सगरमाथासहित सबै हिमालका लागि रहेको र हिमाल आरोहणमा असर र प्रभाव पारेकाले यस्ता गतिविधिलाई रोक्न खोजिएको बताउनुभयो ।

उहाँका अनुसार, भूकम्पका बेला सगरमाथामा गएको हिमपहिरो, आरोहीका शव, त्यहाँ थुप्रिएको फोहोरलगायत नकारात्मक विषयमा जथाभावी फोटो भिडियो खिचेर बेचबिखन गर्ने, नेपालको आरोहणबारे नकारात्मकता फैलाउने गतिविधि रोक्न विभागले कडाइ गरेको हो ।

विभागले अब आरोहणबाहेक अन्य थप गतिविधि गर्ने भए तीबारे अनिवार्य जानकारी गराउँदै विभागको स्वीकृत लिनुपर्ने नियम बनाएको छ ।

त्यस्तै अब आरोहणमा जाने स्वदेशी वा विदेशीको स्वास्थ्य अवस्था विभागलाई जानकारी गराउँदा हिमाल आरोहण गर्न उपयुक्त भएको मेडिकल विवरण पनि पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *