Main News

चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी

हिमालय टिभी
२०७७ फागुन २६ गते ७:४९
चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी

२६ फागुन २०७७ काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले चैतको दोस्रो सातादेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको जनाएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने दावी गर्नुभयो ।

चैत दोस्रो सातादेखि तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिने र परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर पूर्ण रुपमा पानी वितरण गरिने खत्रीको भनाइ छ ।

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो सातादेखि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ ।

मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिएर सँगसँगै वितरण हुनेछ । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *