पुनर्स्थापित संसदको दोस्रो बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

२६ फागुन २०७७ काठमाडौं । पुनर्स्थापनापछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो।
त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले बैठक बहिष्कार गरेका थिए। बहिष्कार र अवरोधका कारण सूचना टाँसेर बैठक आज दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको थियो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, सामाजिक सुरक्षा पहिलो संशोधन, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश पेस गर्ने कार्यसूचि छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।
यी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको ६ महिनाभित्र संसदबाट पारिन गरिनुपर्ने संवैधानिक व्यवस्था छ।
यस्तै आजको कार्यसूचीमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
प्रतिक्रिया