Main News

मुस्कान खातुनः एसिड आक्रमणको शिकारदेखि अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मानसम्म (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २४ गते १५:००
मुस्कान खातुनः एसिड आक्रमणको शिकारदेखि अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मानसम्म (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनको अहिले सर्वत्र प्रशंसा भैरहेको छ । शान्ति, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अहम् भूमिका निर्वाह गरेका महिलालाई अमेरिकाले यो पुरस्कार दिँदै आइएको छ । हिंसा भोगेपछि गुमनाम भएर बस्नुपर्ने, हाम्रो समाजमा, सानी मुस्कान कसरी सहसिक बन्न सक्नुभयो ?

प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण २०७६ सालमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनले भोगेको पीडा कसैले कल्पना गर्न सक्दैन । शरीरमा चोटै चोट लिएर, अस्पतालका बेडमा महिनौ कटाउनु पर्दाको पीडा मुस्कानका आँखामा झल्झली आउँछ ।

अस्पतालबाट डिस्चार्ज भए पनि मुस्कानले अझै दुई वटा अप्रेशन गर्नुछ । गर्धन चलाउन मुस्कानलाई गाह्रो हुन्छ । जीवनमा केही घटना भएपछि जो कसैलाइ अगाडि बढ्न र साहस जुटाउन सकस हुन्छ । तर मुस्कानले भने पीडा भुल्दै नयाँ बाटो तय गर्नुभएको छ । यो कसरी सम्भव भयो त ?

१५ वर्षीया मुस्कान अहिले एसिड आक्रमण पीडितले पाउने न्याय र महिलामाथि हुने अन्य हिंसाविरुद्ध आवाज उठाइरहनु भएको छ । त्यही साहसको कदर गर्दै अमेरिकाले उहाँलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार दिने निर्णय गरेको हो । यो निर्णयसँगै मुस्कानको साहस अझै बढेको छ । र अरुलाई पनि साहसी हुन र हिंसामा परेपनि नडराई अगाडि बढ्न मुस्कानको सुझाव छ ।

मुस्कानको यो साहस अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेपछि मात्रै आएको होइन । एसिड आक्रमणपछि विचलित हुँदा पनि हरेक परिस्थितिमा साथमा खडा भएका बुबाआमाका कारण पनि मुस्कानको मुस्कान झनै बढ्दै गएको छ । किनभने मुस्कानलाई परिवारले बलियो बन्न हौसला दिइरहेको छ ।

मुस्कानमाथि एसिड आक्रमण भएसँगै परिवारका सदस्य विचलित भएका थिए । तर , सम्हालिँदै हरेक परिस्थितिमा मुस्कानको साथमा रह्यो । अप्ठ्यारोमा परिवारको साथ, हुने हो भने समस्यामा परेका चेलीहरु बलियो बन्न सक्ने अनुभव मुस्कानको परिवारको छ ।

मुस्कानका परिवार त्यो विचलित अवस्थामा बलियो हुनुको कारण भने एउटै थियो । अपराधीलाई समयमा नै सजाय दिन, न्यायालयदेखि सबै निकाय साथमा थिए । अप्ठ्यारोमा परेका आफ्ना सन्तानलाई सहयोग गर्नु पर्छ भन्नुहुन्छ मुस्कानका बुबा रसुल अन्सारी ।

हिंसामा परेकालाई न्याय दिने भन्दा पनि समाज, परिवारले गर्ने असहयोगका कारण उनीहरु झन् समस्यामा पर्ने गरेका छन् । अधिकांश हिंसाका घटनामा समुदायकै असहयोगका कारण लुक्ने र पिडक खुलेआम हिड्ने परिपाटी बनेको छ ।

अनिनी वर्षोसम्म न्यायको लागि अदालतको ढोका ढकढकाउँदै मुत्युवरण गर्नूपर्ने अवस्था समेत छ । हिंसामा परेका महिला तथा बालिकाको न्यायको लागि परिवार, समुदाय दुवै डटेर लाग्ने र मानसिक रुपमा सारथी बन्ने हो भने, मुस्कानले जस्तै आफ्नो पीडालाई भुलेर मूस्काउँदै आफ्नो जीवन अगाडि बढाउन सक्ने बाटो तय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *