Main News

यसरी मनाउन थालिएको थियो श्रमिक महिला दिवस

हिमालय टिभी
२०७७ फागुन २४ गते ६:५९
यसरी मनाउन थालिएको थियो श्रमिक महिला दिवस

२४ फागुन २०७७ काठमाडौं । आज ८ मार्च अर्थात एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

नारी दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले कार्यक्रमहरु गर्ने भएका छन् । महिला अधिकार र समानताका लागि यो दिवस मनाउन थालिए पनि नेपालमा महिलाहरुको अवस्थामा भने सुधार आउन नसकेको उनीहरुको भनाइ छ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ ।

नारी दिवसको इतिहास केलाउने हो भने सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

मार्क्सवादीहरुले सुरु गरे पनि यो दिवस संसारभरिका पुँजीवादी महिलाले समेत मनाउँछन् ।

लामो समयदेखि महिलाहरुले संघर्ष गरे भने नेपालमा पनि ठूलाठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडन भयावह अवस्थामै रहेको छ ।

महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु अझै कायमै छन् ।

महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको ११ दकश पुगिसक्दा आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ ।

उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन ।

नारी दिवस हरेक वर्ष मनाइन्छ । हरेक वर्ष महिला पुरुष समानताको कुरा हुन्छ । वर्षमा एक दिन यसरी समानताको कुरा गरिए पनि त्यसबाहेकका दिनमा व्यवहारमा असमानताका खाडलको आयातन झनै फराकिलो बनाइने गरेको छ । त्यसैले नारी दिवस एउटा औपचारिकतामा सीमित बनेको अधिकारकर्मीहरु बताउँछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपतिले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ हामी यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले त्यस सङ्कल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक रहेको बताउनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपतिले भन्नुभएको छ, “यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”

दिवसकै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गर्नुभएको छ ।

उहाँले नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले यस अवसरमा नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने सदीक्षासमेत व्यक्त गर्नुभएको छ ।

उहाँको शुभकामना सन्देशमा भनिएको छ, “जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ । संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव छैन ।”

उपराष्ट्रपतिले मुलुकको विकास, आर्थिक समृद्धि र महिलाहरुको हक–अधिकारका लागि संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाहरुको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षासमेत लिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *