ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन प्रधानमन्त्री ओलीको अपिल
२३ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर कोरोना भाइरसविरुद्धको खोप लगाउन अपिल गर्नु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा आज बिहान खोपको पहिलो डोज लगाएपछि प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा उपलब्ध भएका बेला लगाउन अपिल गर्नुभयो ।
खोपलाई लिएर विभिन्न शंका रहेका बेला प्रधानमन्त्री ओलीले कुनै पनि दुविधा नराखी खोप लगाउन अपिल गर्नुभएको हो ।
यस्तै त्रिवि अस्पतालमै पुगेर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि खोप लगाउनु भएको छ । उहाँले पनि सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि खोप लगाउनु भएको छ । नेता पौडेलले सरकारले कोरोनाविरुद्धको खोप ल्याएर राम्रो काम गरेको भन्दै आमनागरिकलाई पनि लगाउन आग्रह गर्नुभयो ।
सरकारले ६५ वर्ष माथिका १६ लाखभन्दा बढी जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने गरी दोस्रो चरणको अभियान आज सुरु गरेको छ ।
ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहयोगीलाई दोस्रो चरणमा खोप लगाउने सरकारको तयारी छ ।
यसअघि भारतले अनुदानमा दिएको खोप कोरोना रोकथामको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीसहितलाई लगाइएको थियो ।
प्रतिक्रिया